के ! दिपक पाैडेलकै नियति दाेहाेरियाे ?
पाेखरा ।
नेकपा एमालेबाट कास्की- २ का लागि यसअघि ताेकिएका उम्मेदवार कृष्णबहादुर थापाको टिकट खोसिएकाे छ ।
एमालेको केन्द्रीय सचिवालय बैठकले कास्कीका ३ वटै क्षेत्रका उम्मेदवार टुंग्याउँदा २ नम्बरमा लागि पोखराका पूर्वमेयर तथा गण्डकी प्रदेशसभा सदस्य थापाको नाम टुंगिएकाे थियो ।
एउटै व्यक्तिलाई पटकपटक उम्मेदवार बनाइएको, युवालाई नसमेटिएकाे भन्दै पार्टीकाे साे निर्णयकाे आलोचना समेत भएकाे थियाे ।
थापाको टिकट खोसिएको र साे टिकट युवा नेता रश्मी आचार्यले हात पारेको विषयले एमालेभित्र खैलाबैला मच्चिएकाे छ ।
२०५४ सालमा पोखराको मेयर जितेका थापा २०६४ सालमा पनि आकांक्षी थिए भने क्षेत्र नम्बर २ मा २०७० मा कांग्रेसका शारदा पौडेलसँग पराजित भएका थिए ।
२०७४ सालमा प्रदेश सांसद भएका थापाले राजीनामा दिएर पोखराको मेयरको टिकट हात पारेका थिए । त्यतिबेला पृथ्वीसुब्बा गुरुङ समूहका दीपक पौडेलले टिकट पाएका थिए । उनले सुन चोरी गरेको भिडियो सार्वजनिक भएपछि दीपकको टिकट खोसिएर थापाको पोल्टामा परेको थियो । यसपटक थापाले त्यही नियति भोगेका छन् ।
मेयरमा पराजित र कास्कीका अलोकप्रिय नेता थापालाई टिकट दिइएको भन्दै आलोचना भएको थियो भने आइतबार थापाले टिकट पाएपछि आचार्यको पक्षमा नारा लगाउँदै युवाहरू पार्टी कार्यालय पुगेका थिए ।
यता, थापाले सामाजिक सञ्जाल फेसबुकमा पार्टीले गरेकाे निर्णय अनुरूप आफूँ नै आधिकारिक उम्मेदवार भएको र सामाजिक सञ्जालको हल्लाबमोजिम आफूँलाई आधिकारिक कुनै अर्को जानकारी केहि नभएको उल्लेख गरेका छन् ।

युवा नेता आचार्यले पनि पार्टी निर्णयलाई शिरोधार्य गर्दै हामी एकमन एकताका साथ निर्वाचनमा होमिएका छौं ।कास्की-२ मा हाम्रो विजय सुनिश्चित छ । लेखेर फेसबुकमा पाेस्ट गरेका छन् ।

कास्की-२ एमालेको प्रभाव क्षेत्र मानिन्छ । जहाँ नेता रविन्द्र अधिकारीले ३ पटक जित हासिल गरेका थिए भने उनको निधनपछि उपनिर्वाचन र २०७९ मंसिरको आमनिर्वाचनमा पनि विद्या भट्टराईले जितेकी थिइन् ।
यस पटक पछिल्लो परिस्थितिअनुसार आचार्यले टिकट पाउने चर्चा थियो र उनलाई कास्की-२ मा बलियो उम्मेदवारका रूपमा हेरिएको थियो । पृथ्वीनारायण क्याम्पसको पूर्वस्ववियु सभापति आचार्य अनेरास्ववियुको उपाध्यक्ष भए पनि नेतृत्व पाएका थिएनन् ।
अध्ययनशील र वौद्धिक नेतको छबि बनाएका रश्मीलाई टिकट दिँदा अहिलेको कठिन परिस्थितिमा पनि कास्की-२ एमालेका निम्ति सुरक्षित हुनसक्ने नेताहरूले बताएका थिए । तर एकाएक टिकट थापाले हात पारेपछि त्यो क्षेत्र एमालेले गुमाउने भन्दै एमाले कार्यकर्ताले असन्तुष्टि जनाइरहेका थिए ।
एकाएक टिकट फेरिएपछि कास्की एमाले भित्र तरंग ल्याएको छ भने क्षेत्र नम्बर २ का नेता/कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् ।
गत निर्वाचनमा यो क्षेत्रबाट विद्या १६ हजार ९९८ मत ल्याएर विजयी भएकी थिइन् । रास्वपाका कँडेलले १२ हजार ४९५ मत ल्याएका थिए भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याएका थिए ।
प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०६:४०




