१७ जनाकाे उम्मेदवारी, शीर्षकै भिडन्त पक्का
पोखरा ।
कास्की–२ मा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार शीर्ष दलसहित १७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिस्पर्धात्मक मानिएको यो क्षेत्रमा एमालेले रश्मी आचार्य, कांग्रेसले मधु बास्तोला, नेकपाले हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीले कुशल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले हेमजङ गुरुङलाई उम्मेदवार बनाएर मैदानमा उतारेको छ । मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल, नेशलन रिपब्लिक पार्टी नेपालका ज्ञानराज गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, प्रगतीशिल लोकतान्त्रिक पार्टीका दिपक भण्डारी, नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रेमबहादुर थापाले पनि यहि क्षेत्रमा मनोनयन दर्ता गराएका छन् ।
निरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल, रामचन्द आचार्य, बसन्तराज घिमिरे र विष्णुप्रसाद तिवारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा लगातार जित्दै आएको नेकपा एमालेका रश्मी, कांग्रेसका मधु, रास्वपाका उत्तमबीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएपनि कास्कीमा असल नेताको परिचय बनाएका नेकपाका हेमबहादुर र उज्यालो पार्टीका कुशलले पनि मतदातालाई आकर्षित गर्न सक्ने अनुमान छ ।
यहाँ, अघिल्लो पटकको चौथो दल राप्रपाबाट यसपटक केन्द्रीय उपाध्यक्ष हेमजंग गुरूङले उम्मेदवारी दिएका छन् । कास्की–२ मा सुरुमा एमालेबाट कृष्ण थापाले टिकट हात पारेका थिए । तर, २०५४ सालमा पोखराको मेयर भएयता पटकपटक अवसर पाएको तर नतिजा ल्याउन नसकेको भन्दै आलोचना भएपछि टिकट हेरफेर भएको थियो । एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज थापाको टिकट खोसिएपछि एमालेका केन्द्रीय सदस्य तथा युवा नेता रश्मीले टिकट पाएका थिए । थापाले भने अन्तिम समयसम्म पनि आफैं उम्मेदवार भएको बताउँदै आएका थिए । तर, नेताहरुसहित पुगेर मनोनयन दर्ता गर्दै रश्मीले कास्की २ मा एमालेको विरासत कायमै राख्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसले राति अबेरमात्रै उम्मेदवार टुंग्याएको हो । स्वच्छ छवि भएका नेताका रुपमा कांग्रेसले गण्डकी समितिका प्रवक्तासमेत रहेका मधु बास्तोलाई उम्मेदवार बनाएको छ । पोखरा वडा नम्बर १२ का पूर्व वडाध्यक्ष हुँदै कास्की पार्टीका विभिन्न तहमा काम गरे पनि अहिलेसम्म अवसर नपाएका नेताका रुपमा मधुलाई अगाडि सारेको हो ।
नेपाली कांग्रेसको राजनीतिक बिरासतबाट पत्रकारिता हुँदै रास्वपाको राजनीति थालेका रविनिकट सम्बन्ध भएका उत्तम प्रसादलाई पनि कास्कीमा बलियो उम्मेदवारकै रुपमा हेरिएको छ । विद्यार्थीबाट तरुण दलको राजनीतिसमेत गरेका उत्तम पछि पत्रकारितामा लागेका थिए । रविसँग न्युज २४ र ग्यालेक्सी टिभीमा काम गरेका उत्तमले पनि जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।
नेकपाबाट उम्मेदवारी दिएका हेमबहादुर माओवादी सशत्र संघर्षका लडाकु नेता हुन् । उनी २०६४ सालकै निर्वाचनमा कास्की २ बाट आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै माओवादीमै फर्किएका हेमबहादुर शालिन, वौद्धिक नेताका रुपमा चिनिन्छन् । उनले पनि अहिलेको अवस्थामा परिवर्तनको पक्षमा उभिने पार्टी नै नेकपा भएको र विवेकशील मतदाताले व्यक्तिको क्षमता तथा छविलाई पनि हेर्ने भएकाले आफूले जित निकाल्न सक्ने दाबी गरे ।
उज्यालो नेपालबाट कास्की २ मा उम्मेदवारी दिएका कुशल जलवायु क्षेत्रमा विज्ञका रुपमा काम गरिरहेका व्यक्ति हुन् । बेलायतमा उच्च शिक्षा हासिल गरेर फर्किएका कुशल एक न्यून–कार्बन क्षेत्रका विज्ञ हुन्, जसले एसिया र युरोपमा १५ वर्षभन्दा बढी समयसम्म नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा काम गरेका छन् ।
उज्यालो पार्टीको गण्डकी इन्चार्ज कुशलले मतदाताहरुले पार्टीको विरासतभन्दा पनि माथि उठेर परिवर्तन खोजिरहेकाले आफूले जित्ने दाबी गरे ।
प्रकाशित मिति २०८२ माघ ७ गते मंगलबार ०५:१३




