२०८३ साउन २१ गते बिहीबार

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित आकर्षक पुरस्कार

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित आकर्षक पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १२ गते आइतबार ०१:१८

काठमाडौं । नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच...

काठमाडौं ।

नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाली सेनाले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । बलियो एकता, सुरक्षित राष्ट्र भन्ने राष्ट्रिय भावनासहित प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ । प्रतियोगिता पाँच विधामा सञ्चालन हुनेछ । ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुल्लातर्फ २५० जनाको सहभागिता रहनेछ । सेनानी गगनबहादुर महतराका अनुसार २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ ६०० जना सहभागी हुनेछन् । सेनाका कर्मचारी, अवकाशप्राप्त सैनिक तथा कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ, जसमा ८०० जनाको सहभागिता रहनेछ । उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गमा ४५० जना सहभागी हुनेछन् भने कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौडमा १०० जना सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मोटरसाइकल तथा स्कुटरजस्ता आकर्षक पुरस्कार प्रदान गरिनेछ । ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले तीन लाख, द्वितीयले दुई लाख र तृतीयले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा चौथोदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै चौथोदेखि दशौँ स्थानसम्मका धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

१० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी) तर्फ महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा ५ किलोमिटर वाकिङ्ग विधामा पनि स्थान अनुसार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नगद पुरस्कारसँगै ४२.१९५ किलोमिटर म्याराथन पुरुष विजेतालाई मोटरसाइकल, २१ किलोमिटर हाफ म्याराथन पुरुष र महिला विजेतालाई काठमाडौं महानगरपालिकाबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक समितिका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक एकता प्रवद्र्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि, राष्ट्रिय सुरक्षा सन्देश प्रवाह तथा युवा पुस्ता र नेपाली सेनाबीच सकारात्मक सम्बन्ध विकास गर्नु हो । प्रतियोगिता नेपाली सेनाको सामाजिक उत्तरदायित्व र राष्ट्रनिर्माणमा सक्रिय सहभागिताको प्रतिक भएको सेनाले उल्लेख गरेको छ ।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस म्याराथनले हरेक वर्ष नेपाली सेना र सर्वसाधारणबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको आयोजकको भनाइ छ । यस वर्ष पनि प्रतियोगिता सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले नेपाली सेनाका सम्बन्धित कार्यालय वा तोकिएका दर्ता केन्द्रमार्फत नाम दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति २०८२ माघ १२ गते आइतबार ०१:१८
हजुरको प्रतिक्रिया