काठमाडौं ।
नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै छ । करिब दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका छन् । वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वल्र्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
प्राधिकरणका अनुसार मंसिरसम्ममा बजार हिस्साको हिसाबले वल्र्डलिंकका सबैभन्दा ग्राहक छन् । वल्र्डलिंकका ग्राहक १० लाख ५५ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिंक पछिको डिसहोम हो । डिसहोमका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् ।
बजार हिस्साको हिसाबले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख ४० हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्ममा २ लाख ६८ हजार ग्राहक संख्या पुर्याएको छ ।
बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५५ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसर्फर देखिएको छ । अहिले बजारमा वेभसर्फरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।
यस्तै बजार हिस्साको हिसाबले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख २३ हजार रहेका छन् भने नवौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ ।
इन्टरनेट कम्पनीहरुले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरु समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरु गर्ने गरेका छन् ।
प्रकाशित मिति २०८२ माघ १४ गते मंगलबार ०१:३९




