नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन्। आफ्नै भ्रातृसंगठन समाजवादी प्रेस संगठनले २०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले ओलीप्रति आक्रोश पोखेका छन्।
उनले केपी ओली अब वामपन्थी नै नरहेको पनि जिकिर गरे। ‘केपी ओलीको नारा वामपन्थ होइन, रामपन्थ भएको छ’, उनले भने, ‘हामी मात्रै अग्रगमनको पक्षमा छौँ। केपी ओली प्रतिगमनको पक्षमा छन्।’ उनले पाँच दल परिवर्तनका बाहक रहेको पनि जिकिर गरे। ‘हाम्रा पाँचै पार्टी परिवर्तनका बहाक हुन्। पाँच दलको गठबन्धन एकतावद्ध भएर अघि बढिरहेको छ’, उनले भने, ‘आउने निर्वाचनमा पनि संयुक्त रुपमा अघि बढ्छौँ। राष्ट्रियसभा र उपनिर्वाचनमा पनि मिल्छौँ।’
उनले ओलीलाई परपीडक नम्बर एकको संज्ञा दिए। ‘हामी अझै पनि उनलाई पनि सुध्रिन, गल्ती महसुस गर्न, आत्मआलोचना गर्न भनिरहन्छौँ’, उनले भने, ‘ओली र एमाले सांसदले संसद अवरोध गरेर अझै प्रतिगमन गर्दैछन्।’
प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ०३:३९




