कास्की
कास्कीको पोखरा महानगरपालिका–२१ कृस्ती बयेँलीका विश्ववन्धु पोख्रेलले कफीका बोटसँग संगत गर्न थालेको ५ दशक बढी भयो । २०३० सालमा आफ्ना बुवाले रहरले रोपेका केही कफीका बोटलाई विश्ववन्धुले २०५८ सालमा ६ रोपनी जग्गामा व्यवसायिक खेतीका रुपमा विस्तार गरे । यो वर्षसम्म आउँदा उनको ब्लु माउण्टेन अर्गानिक कृषि फार्मको २० रोपनी जमिनमा २ हजार कफीका बोटसँगै नर्सरीमा वार्षिक ५ हजार विरुवा हुर्किरहेका छन् ।
पछिल्ला ७ वर्ष यता विश्ववन्धु कफीको बोट सुक्ने समस्यासँग जुधिरहेका छन् । ‘टुप्पोतिरबाट बोट सुक्दै जान्छ, सन् २०१९ मा त नर्सरी भरिका बिरूवा सर्लक्कै मरे,’ विश्ववन्धुले सुनाए ।‘त्यो बर्ष नर्सरीका १८ हजार विरुवामा १८ वटा पनि बचेनन्, यहीँबाट लगेर कृस्तिकै रामदी, राम्मी, पहरे गाउँका किसानले रोपेका विरुवाहरुमा पनि यही समस्या देखियो ।’
गाउँभरि प्रकोपकै रुपमा बोट मर्ने समस्या देखिएपछि प्राविधिकहरुले तापक्रमको असामान्य घटवढले यस्तो समस्या आएको हुनसक्ने बताएको विश्ववन्धुले बताए । त्यसपछिका वर्षहरुमा पनि चिसो र तुषारोबाट विरुवा जोगाउन उनलाई मुस्किल पर्ने गरेको छ ।
विश्ववन्धुसँगै कफी खेतीमा सक्रिय उनका छोरा नवराज केही वर्ष यता चिसो लहरले ढुसीजन्य समस्या देखिएको बताउँछन् । ‘कहिलेकाही ४/५ डिग्री सेल्सियस सम्म तापक्रम घटिदिन्छ, लामो समयसम्म चिसो हुदाँ कफीमा फङ्गीसाइडहरू देखिने, टुप्पोबाट सुक्दै जाने जस्ता समस्या देखिएको छ,’ उनले भने ।

आफुले कफी खेती थाल्दाको समय सम्झँदै विश्ववन्धु सुनाउँछन् ‘मैले खेती शुरू गर्दा ताका यति धेरै रोग किराको समस्या थिएन, लटरम्म फल्थ्यो, कफी निचोर्दा तरररर रस झथ्र्याे, अहिलेको कफीको दाना निचोर्याे, एक थोपा रस निकाल्न पनि बल गर्नुपर्छ ।’
नेपालमा कहिलेदेखि कफी खेती गर्न थालियो त्यसको एकिन विवरण पाउन कठिन छ । वि.सं. १९९५ मा हिरा गिरीले बर्माबाट कफीको बिउ ल्याई गुल्मीको आँपचौरमा रोपेका थिए । त्यसकारण पनि गुल्मीलाई कफीको जिल्ला भनिन्छ । सवैभन्दा पहिला कफीको सुरुवात गरिएको गुल्मी जिल्लामा समेत पछिल्ला वर्षमा रोग र किराको प्रकोपले कफीको उत्पादन घटेको छ । मुसिकोट नगरपालिकाका मेयर जिवन खरेल गुल्मी जिल्लाको आँपचौर नेपालमै कफी खेती गर्ने पहिलो स्थान भएपनि पछिल्ला वर्षमा कफीको उत्पादन घट्दै गएको बताउँछन् ।
सेतो गबारो लगायत अन्य रोग किरा र प्रकोपका कारण कफीको उत्पादन घटेको उनको भनाई छ । ‘अहिले गुल्मी जिल्लाभरमा हुने जति कफी त पहिला आँपचौरमा मात्र फल्थ्यो,’ उनी भन्छन् । जिल्ला कृषि विकास कार्यालय गुल्मीकाअनुसार जिल्लामा गत वर्ष करिव ३० मेट्रिक टन कफी उत्पादन भयो । जबकी २५ वर्षअघि गुल्मीमा कफी उत्पादन ८६ मेट्रिक टन थियो । यद्यपी पछिल्ला वर्षमा मानिसहरु कफीका नयाँ जातका विरुवा लगाएर कफी उत्पादनमा लागेको र त्यसका लागि नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको खरेल बताउँछन् ।

कफी र जलवायु
नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय बजारमा गुणस्तरीय मानिने यस क्षेत्रका विज्ञ बताउँछन् । नेपालको भौगोलिक वनावट अनुसार सामान्यतया ८ सयदेखि १६ सय मिटरको उचाईमा कफी खेती हुने कफी अनुसन्धान कार्यक्रम, गुल्मीका वरिष्ठ वैज्ञानिक जर्नाजन गौतम बताउँछन् । उनकाअनुसार कफी खेतीका लागी १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ ।
१० डिग्री सेल्सियसभन्दा कम र २८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुनु कफी खेतीको लागि उपयुक्त मानिदैन । कफीमा सिन्दुरे रोग चुनौतीका रुपमा देखापरेको गौतम बताउँछन् । ‘एकैनासको तापक्रम नहुनु, लामो समयसम्म अत्याधिक चिसो हुनु, सापेक्षिक आद्रता बढी हुनु नै सिन्दुरे रोग लाग्नुको कारण हो ।’ सिन्दुरे रोगका कारण साविकको तुलनामा कफीको उत्पादन घटेको गौतमले जानकारी दिए ।
कफी खेतीपछि रोकियो डढेलो
कफी खेतीका लागि नेपालका मध्यपहाडी जिल्लाको हावापानी उपयुक्त मानिन्छ । लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा र अर्घाखाँचीसंगै गण्डकी प्रदेशका कास्की, स्याङ्जा, लगायतका जिल्लामा पनि कफी खेती फस्टाउँदै छ । मानिसहरुले समूह बनाएर नै कफी खेती गर्न थालेका छन् । पोखरा महानगरपालिका वडा नं. १६ स्थित नौधारे रिंजेमा २० परिवारले पाँच वर्षअघि २०० रोपनीमा थालेको कफी खेतीले डढेलो नियन्त्रणमा सहयोग पुगेको छ ।
मनिसहरु बसोबास गर्न छोडेपछि झाडी बनेको उक्त ठाउँमा हरेक वर्ष डढेलो लाग्थ्यो । तर, जब गाउँलेहरुले मिलेर कफी खेती गर्न थाले, त्यहाँ डढेलो लाग्न छोडेको रिंजे कफी कृषक समूहका अध्यक्ष लक्षु बहादुर गुरुङ सुनाउँछन् । ‘पहिला गाउँमा कोही थिएन । सवै जंगल र झाडी मात्र थियो । हामीले झाडी फाँडेर कफी खेती गर्न थालेपछि वरपर डढेलो लागेको छैन,’ उनी भन्छन्, ‘डढेलोको समस्या थियो, कफी लगाएपछि हामीले चोकमा बसेर चेतना फैलाउने देखि डढेलो लागिहाले तत्काल डढेलो नियन्त्रण गछौ ।’ डढेलो वातावरणीय दृष्टिकोणले हानिकारका मानिन्छ । डढेलो लाग्दा जमिनमा रहेका जैविक विविधताको नोक्सानका साथै वायु प्रदुषण बढाउँछ ।
जैविक कफी खेती
कफी खेतीमा लागेका विभिन्न रोग किराको बाबजुद पनि कास्कीका किसानहरुले जैविक कफी खेतीमा जोड दिएका छन् । रिंजे गाउँलाई अर्गानिक कफी गाउँ बनाउने लक्ष्य समूहको रहेको अध्यक्ष गुरुङ बताउँछन् ।
‘बेलाबेला गवारो र सिन्दुरेले सताउँछ, नियन्त्रणका लागि सकेसम्म प्राङ्गारिक उपचार पद्धति अपनाउँछौ । गोबर, माटो र बालुवाको मिश्रण बनाएर विरुवाको काण्डमा पोत्ने गरिरहेका छौं,’ उनले भने । शत प्रतिशत अर्गानिक कफी प्रमाणित गरी त्यहीअनुसारको मूल्यमा बेच्ने सपना समूहको रहेको गुरुङले बताए । ‘पछिको हाम्रो लक्ष्य हाम्रो गाउँमा नै कफी महोत्सव गर्ने छ । कफी हेर्न रिंजे आउने भावना फैलियोस् भन्ने चाहना हो,’ उनले भने ।
जैविक कफी खेती मानव स्वास्थ्यका लागि मात्र नभई पर्यावरणका लागि समेत उपयुक्त मानिने नेपालका लागि बायोडायनेमिक खेती परामर्शदाता महेन्द्र कुमार श्रेष्ठ बताउँछन् । जैविक पद्धतिले माटोको उर्वराशक्ति जोगाउने र हरितगृह ग्यास उत्सर्जन घटाउने हुदाँ जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्ने श्रेष्ठ बताउँछन् ।
‘जैविक पद्धति अपनाउँदा कफी मात्र स्वस्थ हुने होइन, माटोमा रहेका सुक्ष्म जीवाणुको गतिविधि बढाउँछ, जैविक विविधता जोगाउन भुमिका खेल्छ,’ श्रेष्ठ भन्छन् । कफीको छहारीका लागि लगाइने रुख एवं कफीको हरियालीले पर्यावरणलाई राम्रो पार्छ । कफी बगैचाँले भुक्षय रोक्न मद्दत पु¥याउँछ । यसका साथै, छहारीमा कफी लगाउँदा माटोको आद्रता कायम राख्न, तापक्रम सन्तुलित राख्न मद्दत पु¥याउने श्रेष्ठले बताए । भुक्षय रोक्न, पानीको मुहान जोगाउन र डढेलोको जोखिम घटाउन कफी खेतीले सघाइरहेको श्रेष्ठ बताउँछन् ।





