पाेखरा ।
पहिलो संविधानसभा निर्वाचनमा कास्कीमा ४ वटा निर्वाचन क्षेत्र थिए । हालको कास्की २ का धेरैजसो भाग रहेको कास्की क्षेत्र नम्बर ३ बाट त्यो बेला एमालेका युवा नेता रविन्द्र अधिकारी १३ हजार ३ सय २८ मतले विजयी बने । उनका प्रतिस्पर्धी माओवादीका झलकपाणि तिवारीले १० हजार ९ सय २९८ मत ल्याए ।
त्यसपछि रवीन्द्रले पछाडि फर्कनु परेन । २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी नै दोहोरिए । १३ हजार ३ सय १० मतसहित विजयी हुँदा उनलाई कांग्रेसका सोभियत अधिकारीले १० हजार ८ सय ८ मतले पच्छ्याए ।
२०७४ को आम निर्वाचनमा रवीन्द्रले २७ हजार २ सय ७ मत ल्याउँदा हाल नेपाली कांग्रेसका प्रवक्ता रहेका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । त्यो जीतसँगै रवीन्द्र केपी ओली नेतृत्व सरकारमा पर्यटनमन्त्री बने । तर, २०७५ साल फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० मा पर्ने सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनमा उनीसहित ६ जनाको निधन भयो ।
रिक्त पदका निम्ति २०७६ साल मंसिरमा भएको चुनावमा एमालेले स्वर्गीय रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । उपनिर्वाचनमा उनले ८ हजार ४ सय ३ मतान्तरले जीत हात पारिन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सादगी नेता( हाल स्वर्गीय) खेमराज पौडेल थिए ।
२०७९ मा पनि विद्या सो क्षेत्रबाट उम्मेदवार बनिन् । १६ हजार ९ सय ९८ मतसहित उनी विजयी बन्दा निकटतम् प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेल निस्किए । चर्चामै नरहेका उनले रवीन्द्रको विरासत बोकेकी विद्यालाई टक्कर दिँदा १२ हजार ४ सय ९५ मत पाए । कांग्रेस–माओवादी र एकीकृत समाजवादीको तर्फबाट चुनावी मैदानमा उत्रिएका एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे । राप्रपाका सुवर्णराज पन्तले ३ हजार ९९३ र स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता महादेव गुरूङको पोल्टामा १ हजार ३४० मत गएको थियो ।
तर अहिले समय फेरिएकाे छ । भदाै २३ र २४ काे घटनापछि निर्वाचनमा धकेलिएकाे मुलुकमा थुप्रै राजनीतिक उतारचढावहरू देखा परिसकेका छन् । ०६४ मा निकटतम् प्रतिद्वन्द्वी रहेकाे माओवादी अहिले एकीकृत समाजवादीसहित अन्य साना दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेकाे छ भने उसले विगतकाे चुनावचिन्है परिवर्तन गरेर चुनावमा हाेमिएकाे छ । यता, जेनजी आन्दोलनपछि धर्मराएकाे काँग्रेसमा गगन, विश्वप्रकासहरू अघि बढेर नेतृत्व नै परिवर्तन गरि काँग्रेस बदलिएकाे भास्य निर्माण गर्न खाेजिरहेका छन् । गत निर्वाचनमा उदाएकाे रास्वपा विभिन्न उतारचढावसहित बलियाे शक्तिका रूपमा निर्वाचनमा हाेमिएकाे छ । गत स्थानीय तहकाे निर्वाचनबाट काठमाडाैंकाे मेयरमा निर्वाचित बालेन्द्र शाह बालेनसमेत मेयरकाे कार्यकाल बाँकी छँदै राजिनामा दिएर रास्वपामा जाेडिएपछि अहिले देशैभर रास्वपाकाे क्रेज देखिएकाे छ ।
देशका विभिन्न भागमा जस्तै कास्की २ मा समेत अहिले रास्वपालाई बलियाे शक्तिका रूपमा हेरिएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा सहजै जित्न सकिने क्षेत्रका रूपमा कास्की–२ लाई राखेको छ।
पोखराको सहरी इलाका रहेको यस क्षेत्रमा रास्वपाले सहजै जित्न सक्ने आकलन गरिनुका पछाडि २०७९ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम रहेको छ। उक्त निर्वाचनमा यस क्षेत्रमा रास्वपाका तत्कालीन उम्मेदवार माधव कँडेल दोस्रो भएका थिए भने समानुपातिकतर्फ रास्वपा पहिलो बनेको थियो।
पञ्चायत कालदेखि निरन्तर जित्दै आएको कास्की–२ मा यसपालि एमाले आफ्नो विरासत जोगाउने दबाबमा छ। कास्कीका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले यो क्षेत्रलाई सबभन्दा सहज क्षेत्रका रूपमा लिएको थियो, जुन यसपालि भत्कने दाबी एमाले इतरका पार्टीहरूले गरिरहेका छन्।
पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा रहेको यस क्षेत्रमा २०७९ को निर्वाचनमा एमाले नेता विद्या भट्टराई निर्वाचित भएकी थिइन्। भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी हुँदा रास्वपाका माधव कँडेलले १२ हजार ४९५ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए ।
कास्की–२ मा समानुपातिकतर्फ रास्वपाले १४ हजार २ मत पाउँदा एमालेले १३ हजार ५४० मत पाएर दोस्रो भएको थियो। कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र नेकपा एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए। यो मत परिणामले भन्छ– कास्की २ मा पहिलाजस्तो एमाले सुरक्षित छैन र रास्वपाप्रतिको आम मतदाताको झुकाव बढ्दो क्रममा छ ।
तीन वर्षअघि भएको निर्वाचनमा समानुपातिकतर्फ पहिलो स्थानमा र प्रत्यक्षततर्फ ५ दलीय गठबन्धनलाई पछाडि पार्दै दोस्रो स्थान हासिल गरेको रास्वपाले यसपालि सहजै जित निकाल्ने दाबी गरिरहेका छन्।
कास्की–२ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य रश्मी आचार्य पनि आफू पाँच हजार मतान्तरले विजयी हुने दाबी गर्छन्।
नेपाली कांग्रेसले माधव बास्तोला मधुुलाई उम्मेदवार बनाएको छ। मधुले २०५४ सालमा वडाध्यक्षको रुपमा जनअभिमत प्राप्त गरिसकेका छन् ।
पोखरा ११ का बासिन्दा मधु मरेर बाँचेका व्यक्ति हुन् । २०६७ साल असोजमा कांग्रेसको १२ औं महाधिवेशनमा भाग लिएर फर्कँदै गर्दा उनी सवार गाडी मुग्लिन–कुरिनटार सडकखण्डको रमाइलो डाँडामा दुर्घटनामा प¥यो । एउटै गाडीमा रहेका पोखरा ४ का वडाध्यक्ष कृष्णप्रसाद पराजुली,महासमिति सदस्य तेजप्रसाद दाहाल,युवराज पहाडीको घटनास्थलमै ज्यान गयो । अर्का सहयात्री जोगेन्द्र बाटाजूको पनि उपचारको क्रममा निधन भयो । उनी र मदन केसी चाहिँ लामो उपचारपछि निको भए । क्षेत्रीय सभापति भइसकेका यी सादगी नेताप्रति कांग्रेसीहरुको सहानुभूति छ ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय सदस्य किरण थापा आमोद, उज्यालो नेपाल पार्टीले ऊर्जाविद कुशल गुरूङ, राप्रपाले हेमजंग गुरूङलाई उम्मेदवार बनाएको छ।
आमोद उपनामले चर्चित यी नेता माओवादी शान्ति प्रक्रियामा आएपछि समायोजन नरोजेका योद्धा हुन् । ‘यो देशमा वर्ग विभेद छ । असमानताको ठूलो खाडल छ । जाग्दा सपनाहरुलाई फुलाउनु र फलाउनु छ । त्यसको लागि परिवर्तनकारी एजेण्डाको आवश्यकता छ र त्यो कुरा मैले जनतामाझ राखेको छु,’उनी भन्छन्,‘लोकरिझ्याइँवादले देश बन्दैन र देश बनाउन प्रतिवद्ध नेता चाहिन्छ भन्ने हाम्रो आह्वानलाई जनताले मन पराउनु भएको छ ।’ भरतपाेखरीका आमोद स्थानीयस्तरमा भिजेका नेतासमेत हुन् । याे क्षेत्रमा एकिकृत समाजवादीसहित नेकपाकाे संगठित मत र त्रिपक्षीय भिडन्तबाट बाँडिने मतकाे बिचबाट परिणाम निकाल्ने नेकपाकाे साेच छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष इ.हेमजंग गुरुङ पनि मैदानमा छन् । राप्रपा अहिले चर्चा गरिएका पार्टी जत्तिकको बलियो त छैन तर राजासहितको हिन्दुराज्यको माग गर्ने यो पार्टीका शुभेच्छुकहरु चाहिँ यहाँ पनि कम छैनन् भन्ने अघिल्लो मत परिणामले पुष्टि गर्छ । लमजुङ जन्मथलो भएका हेमजंग नै पोखरामा ओर्लिएपछि तरक्की हुने राप्रपाका नेताहरुको जिकिर रहँदै आएको छ ।
राप्रपाकाे केन्द्रीय उपाध्यक्ष हेमजंग स्वयं हेवीवेट उम्मेदवार भएकाे र हिन्दुराष्ट र राजतन्त्रवादीहरूकाे मतले परिणाम निकाल्ने याेजनामा छन् ।
‘पछिल्लो समय हाम्रो एजेण्डा (राजसंस्थासहितको हिन्दुराज्य) प्रति आम नागरिकको समर्थन ह्वात्तै बढेको छ । यो धार्मिक आस्थाको सहर हो,’ राप्रपाका नेता नारायण गुरुङ भन्छन्,‘हाम्रो यहाँ कसैसँग प्रतिस्पर्धा छैन । हाम्रो एजेण्डा स्थापित हुँदै गएको छ र तल्लो तहमा रहेका नागरिकहरु नै हाम्रो जीतको आधार हुन् ।’
उता, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका कुशल गुरुङ पनि उज्यालो नेपालका निम्ति आफूलाई मत दिने आग्रहसहित जनतामाझ छन् । पेशाले इञ्जिनियर रहेका उनी नीति निर्माणको क्रममा भएका त्रुटिका कारण देशले समृद्धि प्राप्त गर्न नसकेको बताउँछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की–२ मा ५ जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन्।
यता, एमालेको किल्लाका रूपमा परिचित कास्की–२ मा टिकट वितरण बेला नेताहरूबीच असन्तुष्टि चुलिएको थियो।
एमाले केन्द्रीय सदस्य कृष्णबहादुर थापाले टिकट पाए पनि मनोनयन दर्ता गर्ने बेला टिकट खोसियो। उनको ठाउँमा अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई टिकट थमाइयो। २०७९ को स्थानीय निर्वाचनमा पनि एमाले नेता थापाले पोखरा महानगरका मेयरको टिकट अर्का नेता दीपक पौडेलबाट खोसेर आफू चुनाव लडेका थिए। उनी पाँच दलीय गठबन्धनका उम्मेदवार धनराज आचार्यसँग पराजित हुन पुगेका थिए।
यसपटक थापाले पाएको टिकट खोस्न सफल भएका रश्मी आचार्यका लागि एमालेभित्रको त्यही असन्तुष्टि चिर्न चुनौती हुने एमाले कार्यकर्ताहरू बताउँछन्। मनोनयन दर्तामा भने आचार्य सँगसँगै थापा पनि गएका थिए। यसले एमालेभित्र आन्तरिक एकता प्रदर्शन गरेको उनीहरूको भनाइ छ।
रास्वपाले भने गएको निर्वाचनमा पार्टीको संरचना नहुँदा समेत प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो स्थान हासिल गरेको भन्दै अहिले सबै वडामा पार्टीको संरचना पुगेकाले जित सुनिश्चित भएको बताएको छ।
प्रकाशित मिति २०८२ माघ ३० गते बिहीबार ०१:५९




