२०८३ साउन २१ गते बिहीबार

निर्वासन र जेल यात्राकाे १७ वर्षपछि बंगलादेशको प्रधानमन्त्री बन्दै तारिक रहमान

निर्वासन र जेल यात्राकाे १७ वर्षपछि बंगलादेशको प्रधानमन्त्री बन्दै तारिक रहमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०४:४२

बंगलादेशमा भएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुई तिहाइ बहुमत ल्याएसँगै तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । १७ वर्ष लामो लन्डन निर्वासन र १८ महिनाको जेल जीवनपछि स्वदेश फर्किएका रहमानले...

बंगलादेशमा भएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुई तिहाइ बहुमत ल्याएसँगै तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । १७ वर्ष लामो लन्डन निर्वासन र १८ महिनाको जेल जीवनपछि स्वदेश फर्किएका रहमानले पहिलो पटक चुनावी मैदानमा पार्टीको सफल नेतृत्व गरेका हुन् ।

शेख हसिना नेतृत्वको आवामी लिगमाथि प्रतिबन्ध लागेको यस निर्वाचनमा बिएनपीले ऐतिहासिक जित हासिल गरेको छ ।

आमा खालिदा जियाको निधनपछि रहमानले गत पुस महिनामा पार्टीको पूर्ण जिम्मेवारी सम्हालेका थिए । चुनावी हलफनामा अनुसार १२ कक्षा मात्र अध्ययन गरेका उनले लामो समयदेखि लन्डनबाटै कार्यवाहक अध्यक्षका रूपमा पार्टी चलाउँदै आएका थिए । आफ्ना पिता जियाउर रहमान र माता खालिदा जिया दुवैले देशको नेतृत्व गरिसकेकाले अब पूरै जिम्मेवारी तारिकको काँधमा आएको छ ।

सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेका रहमान १८ महिना जेल बसेर सन् २००८ मा लन्डन गएका थिए । आवामी लिगको शासनकालमा उनलाई सन् २००४ को ग्रेनेड आक्रमणको मुद्दामा जन्मकैदको सजाय समेत सुनाइएको थियो । तर हसिना सरकारको पतनसँगै उनले ती मुद्दाहरूबाट राहत पाएका छन् । उनले आफ्नो चुनावी शपथपत्रमा आफू विरुद्ध ७७ वटा मुद्दा रहेको उल्लेख गरेका थिए, जसमा पछिल्लो समय कतिपयमा सफाइ दिने प्रक्रिया चलिरहेको छ ।

सन् २००१ देखि २००६ सम्म बिएनपी सत्तामा रहँदा रहमानको नेतृत्वमा रहेको ‘हवा भवन’ चर्चा र विवादको केन्द्र बनेको थियो । विपक्षीहरूले उनलाई समानान्तर सत्ता चलाएको र भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन् । तर रहमान र उनको पार्टीले यी सबै आरोपलाई राजनीतिक प्रतिशोध र दुष्प्रचार बताउँदै आएका छन् । राजनीतिज्ञ महबुब उल्लाहका अनुसार सन् २००१ को निर्वाचन रणनीति बनाउन प्रयोग गरिएको उक्त भवन पछि विवादमा तानिएको थियो ।

२० नोभेम्बर १९६५ मा जन्मिएका रहमानले सन् १९८८ मा बगुडा जिल्लाबाट औपचारिक रूपमा राजनीति सुरु गरेका थिए । सन् १९९१ को चुनावमा आमा खालिदा जियालाई सघाएपछि पार्टीमा उनको पकड बढ्दै गएको थियो । अहिले बिएनपीले उनलाई पार्टीको एकमात्र निर्विकल्प नेताका रूपमा प्रस्तुत गरेको छ । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेपछि उनी औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त हुनेछन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०४:४२
हजुरको प्रतिक्रिया