२०८३ साउन २१ गते बिहीबार

कास्कीकाे मतदानस्थल १३६ स्कुल, १४ वडा कार्यालय र ३ वटा सामुदायिक भवन

कास्कीकाे मतदानस्थल १३६ स्कुल, १४ वडा कार्यालय र ३ वटा सामुदायिक भवन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०४:४८

पोखरा । कास्कीका १ सय ५३ मतदान स्थलमध्ये १ सय ३६ वटा विद्यालय भवनमा छन् । वडा कार्यालयमा १४ र ३ वटा सामुदायिक भवनमा सञ्चालन हुने भएका छन् । मतदानस्थलको भौतिक पूर्वाधार, पहुँच र सुरक्षा व्यवस्थापन नै यस पटकको निर्वाचन सुरक्षाको मुख्य...

मतदानस्थल सुरक्षाका लागि कास्कीमा नेपाल प्रहरी ८६० जना र निर्वाचन प्रहरी १९३९ जना खटाइने

पोखरा ।

कास्कीका १ सय ५३ मतदान स्थलमध्ये १ सय ३६ वटा विद्यालय भवनमा छन् । वडा कार्यालयमा १४ र ३ वटा सामुदायिक भवनमा सञ्चालन हुने भएका छन् । मतदानस्थलको भौतिक पूर्वाधार, पहुँच र सुरक्षा व्यवस्थापन नै यस पटकको निर्वाचन सुरक्षाको मुख्य चासो बनेको जिल्ला प्रहरी कार्यालय कार्याय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताए ।

जिल्लाका ५६ मतदानस्थल अति संवेदनशील, ५४ वटा संवेदनशील र ४३ वटा सामान्य छन् । तीमध्ये क्षेत्र नम्बर ३ को छोमरोङमा सडक पहुँच पुगेको छैन । जहाँ पुग्न घान्दु्रकबाट सामान्यतया ४ घन्टा लाग्छ । फर्कन भने साढे २ घन्टामात्र लाग्ने प्रहरी निरीक्षक पाण्डेले जनाए ।

उनका अनुसार ११ वटा मतदानस्थलमा इन्टरनेट सेवा नपुगेको भए पनि नेपाल टेलिकम र एनसेलको फोन भने लाग्छ । पत्रकार महासंघ कास्कीले गरेको निर्वाचन अभिमुखीकरणमा प्रहरी निरीक्षक पाण्डेले जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय, वडा कार्यालय र सामुदायिक भवनको संरचनागत अवस्था, पहुँच मार्ग, घेराबार, कोठाको संरचना र आपतकालीन व्यवस्थालाई आधार मानेर सुरक्षा योजना परिमार्जन गरेको बताए ।

भौतिक संरचनाको प्रकृति अनुसार सुरक्षा घेरा, प्रवेश–निर्गमन मार्ग, मतदाताको लाइन व्यवस्थापन र मतपेटिका सुरक्षित राख्ने स्थानको छुट्टाछुट्टै योजना बनाइएको प्रहरीले जनाएको छ । पाण्डेले विद्यालय भवनमा कक्षाकोठा पर्याप्त भए पनि कतिपय स्थानमा घेराबार कमजोर रहेको, खुला चौर र बहुविकल्पीय प्रवेश मार्ग हुँदा अतिरिक्त सुरक्षा सतर्कता आवश्यक रहेको बताए ।

वडा कार्यालयमा रहेका मतदानस्थल तुलनात्मक रूपमा सानो परिसरभित्र हुने भएकाले भीड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ । सामुदायिक भवनमा सञ्चालन हुने स्थलमध्ये केहीमा शौचालय, पिउने पानी र प्रतीक्षालयको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रत्येक मतदानस्थलको स्थलगत अनुगमन गरेर भौतिक पूर्वाधारको अवस्थाबारे प्रतिवेदन तयार गरेको जनाएको छ ।

पहुँच मार्ग साँघुरा रहेका, ग्रामीण भेगमा सडक कच्ची रहेका तथा उच्च भूभागमा रहेका स्थलमा मौसमजन्य जोखिमलाई समेत ध्यानमा राखिएको छ । हावाहुरी, वर्षा वा हिमपातको सम्भावनालाई ध्यान दिँदै वैकल्पिक सुरक्षा र ढुवानी योजना बनाइएको प्रहरी निरीक्षक पाण्डेले बताए । उनले भने, ‘मतदान स्थलको संरचना अनुसार जनशक्ति परिचालन फरक–फरक ढंगले गरिएको छ ।’

उनका अनुसार विद्यालयमा रहेका ठूलो परिसर भएका स्थलमा बाह्य घेराबन्दी, गस्ती र रिजर्भ टोली तयारी अवस्थामा राखिनेछ भने साना भवनमा प्रवेश नियन्त्रणमा जोड दिइनेछ । मतदाताको गोपनीयता कायम गर्न कक्षाभित्रको संरचना मिलाउने, छाप लगाउने स्थान सुरक्षित राख्ने र मतपेटिका सुरक्षित कोठामा राख्ने व्यवस्था मिलाइएको छ ।

मतदानस्थल सुरक्षाका लागि नेपाल प्रहरी ८ सय ६० जना र निर्वाचन प्रहरी १ हजार ९ सय ३९ जना खटाइने योजना छ । गाडी मोबाइल गस्तीका लागि १२ वटा टोली परिचालन गरिनेछन्, जसमा महानगर क्षेत्रमा ४ र प्रत्येक गाउँपालिकामा २–२ वटा रहनेछन् । २ वटा क्युआरटी रिजर्भ टोली तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ । साइबर निगरानीका लागि २ जना प्रहरी कर्मचारी खटाइएका छन् ।

निर्वाचनअघि हातहतियार संकलन, फरार व्यक्तिको खोजतलास, उम्मेदवार र निर्वाचन अधिकृतको कार्यालय सुरक्षा तथा राजनीतिक दलसँग समन्वयलाई तीव्र बनाइएको छ । मतदानका दिन अस्पताल, एम्बुलेन्स र दमकल सेवा स्ट्यान्डबाइ राखिनेछ । मतदानपश्चात मतपेटिका ढुवानी उच्च सुरक्षा घेराभित्र गरिनेछ र मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिने प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पाण्डेले ‘भौतिक पूर्वाधार जहाँ कमजोर छ, त्यहाँ अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ’ भन्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले संरचनागत सीमितताका बाबजुद समन्वित सुरक्षा योजना लागू गरिएकाले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको दाबी गरे ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०४:४८
हजुरको प्रतिक्रिया