म्याग्दी ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, झारकोटकी ९० बर्षिय छिन आङमो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दङ्ग परेकी छन् । विगतमा आफन्तको सहयोगमा मत हाल्ने बृद्वा ठकुरीले यसपटक स्वयंमसेवक नारायण योगीबाट मतपत्रमा स्वस्तिक छाप लगाउने र पट्याएर मतपेटिकामा खसाल्ने विधि सिकेपछि उत्साहित छिन् ।
बृद्धा ठकुरीजस्तै ७२ बर्षिय पेम्मा गुरूङले पनि पहिलोपटक मतदान शिक्षा लिईन् । विगतका निर्वाचनमा मतदान शिक्षाका लागि गाउँमा स्वंयमसेवक आउने गरेपनि उनी शिक्षा लिनबाट बन्चित भएकी थिइन्। गाउँका बृद्धबृद्धाले मतदाता शिक्षासँगै निर्वाचनको महत्वका बारेमा समेत बुझ्ने अवसर पाएका छन् । मतदाता शिक्षाका लागि वडाका कार्यालय सहायक योगीले विहान, बेलुकीको समयमा मतदाताको घरदैलो र समुह बनाएर सिकाउने गरेका छन् ।
मतदाता शिक्षाका लागि खटिएकी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,की स्वंयसेवक छिरिङ घले गुरूङले मतदाता शिक्षाको पहुँचमा रहेका बृद्धबृद्धाबाट बदर मत घटाउन सकिने अवस्था रहेको बताइन् । मतदान शिक्षामा मतपत्रमा स्वस्तिक छापको ठाउँमा ल्याप्चे लगाउने, कलमले लेख्ने लगायतका अन्य त्रुटीका बारेमा समेत सचेत बनाइएको उनले बताइन् ।
जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना मार्फत् मतदाता शिक्षा दिएको छ ।
बि.स २०७९ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनमा १० हजार ४ सय ८७ मतदाता रहेकोमा ७ हजार २ सय ५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो। मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।
प्रकाशित मिति २०८२ फागुन १७ गते आइतबार ०१:४६




