म्याग्दी ।
म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान भैरहेको छ । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ।
बेनी नगरपालिका–६ अर्थुङेस्थित जामुनाखर्क मावि मतदान केन्द्रमा ९७ बर्षिय लालबहादुर हमालले पहिलो मतदान गर्नुभएको मतदान अधिकृत सञ्जीब बास्तोलाले बताए । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी देखिएको छ ।
म्याग्दीमा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्वरबहादुर सुवेदी,राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले मतदान गर्नेछन् भने स्वतन्त्र उम्मेदवार महावीर पुन, मंगल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामाले मतदान गर्न पाउने छैनन् । महावीर पुन र लामाको मतदाता नामावली म्याग्दीमा छैन ।
एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन् । महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेकोमा १ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
प्रकाशित मिति २०८२ फागुन २१ गते बिहीबार ११:४३




