पोखरा ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ ।
डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गरे ।
वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उनको जिकिर छ । हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्ने सिटौलाको भनाई छ।
कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गरे ।
सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उनको भनाइ छ ।
इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव समेत दिए ।
इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने उनको बुझाई छ ।
सिटौलाले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने चेतावनी दिए ।
प्रकाशित मिति २०८३ वैशाख ७ गते सोमबार १२:५४




