२०८३ साउन २१ गते बिहीबार

पार्टी हित विपरित काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैनः अध्यक्ष लिङदेन

पार्टी हित विपरित काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैनः अध्यक्ष लिङदेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ७ गते सोमबार ०४:१७

‘पार्टी हित विपरीत काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैन’ लिङदेनले चेतावनी दिए । अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन समयमै हुने र कार्यकाल लम्ब्याउने कुनै मनशाय नरहेको प्रस्ट पारे ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गत निर्वाचनमा राप्रपाले प्राविधिक रूपमा हारे पनि राजनीतिक र वैचारिक रूपमा ठूलो विजय हासिल गरेको दाबी गरेका छन् ।

राप्रपा सम्पर्क समाज विभागद्वारा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन खोज्ने जनताको भावनाको प्रतिनिधित्व राप्रपाले मात्र गर्न सक्ने बताए ।

अध्यक्ष लिङदेनले एउटा चुनावको हारजितले पार्टीको भविष्य र विचारको अन्त्य नहुने बताए ।

‘हामीले एउटा चुनाव हारेका छौँ, तर हामीले लिएको विचार र बाटो हारेको छैन ।’उहाँले भन्नुभयो, ‘देशमा ३६ वर्षदेखि मुठ्ठीभर नेताले मुलुकलाई बन्धक बनाएका थिए, जनताले अहिले परिवर्तन खोजेका छन् । त्यो परिवर्तनको नेतृत्व राप्रपाले गर्नेछ ।’

पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सङ्गठनभित्र सुधार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनले औँल्याए । निर्वाचनका बेला पार्टीका उम्मेदवार हराउन सक्रिय हुने र अनुशासनहीन काम गर्नेहरूलाई अब कुनै पनि हालतमा छुट नदिइने उनले स्पष्ट पारे ।

‘पार्टी हित विपरीत काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैन’ लिङदेनले चेतावनी दिए । अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन समयमै हुने र कार्यकाल लम्ब्याउने कुनै मनशाय नरहेको प्रस्ट पारे ।

भोलिदेखि नै सातै प्रदेशमा समीक्षा बैठक शुरु हुने र त्यसपछि केन्द्रिय कार्यसमितिले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनले जानकारी दिए । ‘महाधिवेशन नै अबको समस्याको समाधान हो, यसमा कोही पनि भ्रममा पर्नु पर्दैन’ उनले कार्यकर्तालाई आश्वस्त पारे ।

वर्तमान सरकार र विशेष गरी नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले जनतालाई ‘स्टन्टबाजी’ ले भन्दा पनि ‘परिणाम’ ले बुझाउनुपर्ने बताए ।

२४ घण्टामा लाइसेन्स दिने प्रचार भएपनि व्यवहारमा जनताले सास्ती भोगिरहेको प्रसंग उल्लेख गर्दै उनले सुशासनको मुद्दामा गृहमन्त्री र सरकारले आफ्नो अडान प्रस्ट पार्नुपर्ने माग गरे ।

सडकपेटीका व्यवसायीमाथि गरिएको व्यवहार र भन्सारमा गरिने दुव्र्यवहारप्रति उनले सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष लिङदेनले देशको राजनीतिक स्थिरताका लागि तीनवटा मुख्य बुँदामा सरकारलाई अघि बढ्न आह्वान गरे ।

अभिभावकीय संस्थाका रूपमा राजाः राष्ट्रपतिको सट्टा राजालाई अभिभावकीय संस्थाका रूपमा राख्ने, हिन्दु राष्ट्रः पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनस्र्थापना, प्रदेश संरचनाको खारेजीः प्रशासनिक र आर्थिक रूपमा बोझिलो बनेको प्रदेश संरचना खारेज गर्ने वा व्यापक सुधार गर्ने एजेण्डा अघि बढाउन आग्रह गरे ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आएको युरेनियम भण्डार लगायतका भू–राजनीतिक संवेदनशीलताका विषयमा सरकारले हतारमा कुनै पनि सन्धि सम्झौता नगर्न उनले आग्रह गरे ।

भ्रष्टाचारको छानबिनका लागि २०४६ पछि सबै उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने र त्यसको सुरुवात आफूबाटै गर्न उनले चुनौती दिए ।

अध्यक्ष लिङदेनले सम्पूर्ण कार्यकर्तालाई उत्साहित भएर संगठन निर्माण र आगामी महाधिवेशनको तयारीमा जुट्न हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति २०८३ वैशाख ७ गते सोमबार ०४:१७
हजुरको प्रतिक्रिया