२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनः कानून निर्माणमा ‘क्यालेण्डर’ लागू गर्ने प्रश्ताव

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनः कानून निर्माणमा ‘क्यालेण्डर’ लागू गर्ने प्रश्ताव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ८ गते मंगलबार ०५:४४

यसले समयमै कानून निर्माण गरी जनतालाई सुशासनको प्रत्याभुति गराउन मद्दत पुग्ने संयोजक पराजुलीले बताए । मस्यौदामा संविधानका प्रावधानहरूसँग मेल नखाएका नियमावलीका पुराना वाक्यांशहरूलाई परिमार्जन गरी संविधान सम्मत बनाइएको छ ।

पोखरा ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यभार पूरा गरी तयार पारेको अन्तिम प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई हस्तान्तरण गरेको छ ।

१५ सदस्यीय मस्यौदा समितिका संयोजक गणेश पराजुलीले १४ दिनको समयावधिमा तयार पारिएको सो मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाएका हुन् ।

प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक पराजुलीले नयाँ नियमावलीले प्रतिनिधि सभालाई अझ बढी प्रभावकारी, जनमुखी र जवाफदेही बनाउने विश्वास व्यक्त गरे ।

नयाँ मस्यौदामा कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्धलाई अझ बढी ‘चेक एन्ड ब्यालेन्स’ गर्ने व्यवस्था गरिएको छ ।

सदन वा संसदीय समितिले दिएका निर्देशनहरूको कार्यान्वयन भए÷नभएको बारे ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने अनिवार्य समयसीमा प्रश्ताव गरिएको छ ।

साथै कुनै निर्देशन कार्यान्वयन गर्न प्राविधिक वा कानुनी कठिनाइ भएमा कार्यपालिकाले सोही अवधिभित्र सदनलाई स्पष्ट जानकारी दिनुपर्नेछ ।

विगतमा विधेयकहरू संसदीय समितिमा लामो समयसम्म अड्किने समस्यालाई समाधान गर्न अब समितिहरूले ‘टाइमलाइन’ र ‘क्यालेण्डर’ बनाएर काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसले समयमै कानून निर्माण गरी जनतालाई सुशासनको प्रत्याभुति गराउन मद्दत पुग्ने संयोजक पराजुलीले बताए । मस्यौदामा संविधानका प्रावधानहरूसँग मेल नखाएका नियमावलीका पुराना वाक्यांशहरूलाई परिमार्जन गरी संविधान सम्मत बनाइएको छ ।

संसदीय समितिका कामकारबाहीमा सञ्चारकर्मीहरूको पहुँच र अधिकारलाई सुनिश्चित गर्दै समितिहरूलाई अझ पारदर्शी बनाउने प्रयास गरिएको उनले बताए ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका सामूहिक मुद्दाहरूलाई सदनमा कसरी प्रभावकारी ढंगले उठाउने र सम्बोधन गर्ने भन्ने विषयमा पनि नियमावली केन्द्रित रहेको बताइएको छ ।

समितिले सर्वसम्मत रूपमा टुङ्ग्याएको यो प्रतिवेदन अब प्रतिनिधि सभाको बैठकमा ‘टेबल’ गरिनेछ । प्रतिवेदन सदनमा पेश भएपछि अन्य सदस्यहरूका लागि ७२ घण्टाको संशोधन म्याद उपलब्ध हुनेछ ।

सो प्रक्रियापछि प्राप्त हुने संशोधनहरूलाई समेत समेटेर सदनले यसलाई अन्तिम रूप दिनेछ ।

प्रकाशित मिति २०८३ वैशाख ८ गते मंगलबार ०५:४४
हजुरको प्रतिक्रिया