पोखरा ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरे ।
महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाए ।
उनले सरकार नेपाली जनताको हितमा नभएको पनि बताए ।
महासचिव गजुरेलले भने,‘परिस्थति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने हो भने फाँसीवाद लागू गर्दै गईराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुम्वासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अव यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अव विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि । पञ्चायति व्यवस्थापनमा पनि त्यो थिएन नि । शुरुमा पञ्चायती व्यवस्थामा सबै संगठनहरुलाई प्रतिबन्ध लगाउनेभन्ने थियो । तर पछि गएर विद्यार्थीहरुले संघर्ष गरेर विद्यार्थी संगठन त प्राप्त गरे नि । त्यसमाथि लगाइएको प्रतिवन्ध त त्यतिखेर नै हटेको थियो । निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरुले चुनाव पनि लडन पाउथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन ।’
महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताए ।
प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार ०५:०१



