म्याग्दी ।
पश्चिम म्याग्दीको महत्वपूर्ण ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्ड निर्माण अलपत्र पर्दा स्थानीयवासी र यात्रुहरूले दैनिक ठूलो सास्ती भोगिरहेका छन्।
मालिका गाउँपालिका–६ तोलाबाङदेखि दरवाङ जोड्ने यस सडकखण्डमा वर्षायाममा हिलाम्मे भएर सडक पोखरीजस्तै बन्ने गरेको छ भने हिउँदमा धुलैधुलोले यात्रा अत्यन्त कष्टकर बनेको छ। निर्माण कम्पनी सम्पर्कविहीन भएपछि चालु आर्थिक वर्ष २०८२/८३ मा पनि सडक निर्माण पूरा नहुने निश्चितजस्तै भएको छ।
विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान निर्माण कम्पनीसँग २२ करोड ५७ लाखभन्दा बढीको ठेक्का सम्झौता भए पनि योजनाको प्रगति हालसम्म ८७ प्रतिशतमा मात्र सीमित छ। विसं २०७८ जेठमा सम्पन्न हुनुपर्ने आयोजना पटक–पटक म्याद थपिँदै गए पनि निर्माण कार्य ठप्प छ।
सडक अवरुद्ध हुँदा विद्यालय जाने विद्यार्थी, यात्रु र सवारीसाधन सबै प्रभावित भएका छन्। स्थानीय तह र सरोकारवाला निकायको दबाबका बाबजुद निर्माण व्यवसायी जिम्मेवार नबनेको स्थानीयको गुनासो छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले अब नयाँ प्रक्रियामा जानुपर्ने अवस्था आएको जनाएको छ। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो २४ किलोमिटर सडक लामो समयदेखि अलपत्र पर्दा जनजीवन कष्टकर बनेको छ।
प्रकाशित मिति २०८३ वैशाख २६ गते शनिबार ०३:४८




