२०८३ साउन २१ गते बिहीबार

पोखरा–१३ मा तरबुजा मेला सम्पन्न, १० लाख बराबरको कारोबार

पोखरा–१३ मा तरबुजा मेला सम्पन्न, १० लाख बराबरको कारोबार

घनश्याम पाण्डे

@Public 4K Tv

२०८३ जेठ ५ गते मंगलबार ०५:४०

मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने किसानलाई नगदसहित सम्मान पनि गरिएको थियो ।
सम्मानित हुनेमा पोखरा–३३ का रमेश आचार्य (३५ रोपनी) नगद १० हजारसहित, पोखरा–२१ का ज्ञानबहादुर कार्की (२४ रोपनी) नगद ७ हजारसहित, पोखरा–१३ का सुन्दर बराल (२२ रोपनी) नगद ५ हजारसहित तथा श्रीधर बराल (२० रोपनी) नगद ३ हजारसहित सम्मानित भएका थिए ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १३ मा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यसहित मंगलबार आयोजित “तरबुजा मेला २०८३” सम्पन्न भएको छ ।

मेलामा करिब १० लाख रुपैयाँ बराबरको तरबुजा कारोबार भएको आयोजकले जनाएको छ ।   पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर १३ को आयोजना तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा भएको मेलामा कृषक र उपभोक्ताबीच प्रत्यक्ष किनमेल गराइएको थियो ।

मेलामा प्रतिकिलो ५५ रुपैयाँका दरले तरबुजा बिक्री गरिएको थियो । सो अवसरमा महानगरका मेयर धनराज आचार्यले पोखरामा तरबुजा करिब ९० दिनमै तयार हुने जानकारी दिँदै महानगरले किसानलाई आवश्यक सहयोग गर्दै आएको बताए ।

उनका अनुसार हाल पोखराका विभिन्न वडामा करिब ५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक तरबुजा खेती भइरहेको छ । पोखरा–३३ तल्लो भाग, पोखरा–२३ पामे, वडा नम्बर १६, १३, १४ र २६ मा व्यावसायिक खेती विस्तार भएको उनले बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराका फाँट क्षेत्रसँगै अन्य स्थानमा पनि व्यावसायिक रूपमा तरबुजा खेती विस्तार भइरहेको जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीकी सचिव डा. प्रेणा सेडाईले पोखरामा तरबुजा उत्पादन भइरहेको कुरा पहिलो पटक जानकारी पाएको बताउँदै मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल ले कृषकको मेहनत र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । मेलाले किसानबीच अनुभव आदान–प्रदान र उत्पादनबारे जानकारी साटासाट गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो ।

मेलाको अवसरमा महिला–पुरुष दौड तथा तरबुजा खाने प्रतियोगिता पनि आयोजना गरिएको थियो । तरबुजा खाने प्रतियोगितामा पोखरा–२३ का गुरुदत्त पराजुली प्रथम, पोखरा–२९ का कुमार थापा मगर द्वितीय तथा पोखरा–३० का सत्यराज भट्टराई तृतीय भएका थिए ।

विजेताहरूले क्रमशः तीन, दुई र एक वटा तरबुजा प्राप्त गरेका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्ष व्यवस्थापन समितिका संयोजक गोपीबहादुर भट्टराई, कृषि सञ्जाल पोखरा–१३ का संयोजक नरेन्द्र अधिकारी लगायतले कृषि उत्पादन प्रवद्र्धन र बजार व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा कृषि सवालको १० अकंमा तरवुजा बहस गरिएको थियो बहसमा पोखरा १३ का अध्यक्ष किरण बराल,कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदिप खतिवडा, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका बैज्ञानिक सन्तोष लोहनी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र कृषि उद्यमी रोशन बराल विच बहस भएको उक्त कार्यक्रमको सञ्चालन पब्लिक टेलिभिजनका पत्रकार घनश्याम पाण्डेले गरेका थिए ।

प्रकाशित मिति २०८३ जेठ ५ गते मंगलबार ०५:४०
हजुरको प्रतिक्रिया