पोखरा ।
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
महानगरपालिकाले वडा नम्बर १८ अधेंरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुदैं वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र संरचनाहरु जेठ ९ गतेभित्र हटाउन महानगरले सम्वन्धित व्यक्ति वा संस्थालाई सुचित गरेको छ ।
महानगरपालिकाको प्राविधिक टोलीमार्फत नापजाँच गरी पोल गाडिएको क्षेत्रभित्र रहेका संरचना हटाउन २०८० सालको कार्तिक १० गते प्रकाशित ३५ दिने सूचना जारी गरेको स्मरण गराउँदै उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण तथा परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेको महानगरले उल्लेख गरेको छ ।
साथै, वैशाख ४ गते महानगरले जारी गरेको सूचना समेतबाट जेठ ९ गतेभित्र खोलाघरभित्र निर्माण भएका स्थायी वा अस्थायी संरचना हटाउन समेत गराएको छ । तोकिएको समयभित्र संरचना नहटाइए महानगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने चेतावनी पनि सूचनामा दिइएको छ ।
प्रकाशित मिति २०८३ जेठ ६ गते बुधबार ०२:३६




