सर्लाही । सर्लाहीमा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले प्रहरीको जिपमा आगजनी गरेका छन् ।
आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।
आगलागीबाट गाडीको अधिकांश भाग जलेको छ । प्रहरीकाअनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका–७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका–५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।
महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उक्त विषयलाई लिएर सोमबार प्रहरी र स्थानीयवासीबिच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले सोमबार दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका थिए ।
प्रकाशित मिति २०७८ पुस १३ गते मंगलबार १०:२८




