पोखरा ।
पोखरा महानगरपालिका वडा कार्यालय १२ को आयोजना तथा हिल पोइन्ट स्कुलको सहकार्यमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीमा सिर्जनशीलता, कलात्मक क्षमता तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पोखराका विभिन्न ४३ विद्यालयका विद्यार्थीको सहभागिता थियो। विद्यार्थीले वातावरण संरक्षण, सामाजिक सद्भाव, शिक्षा, संस्कृति तथा समसामयिक विषयवस्तुलाई चित्रमार्फत आकर्षक ढंगले प्रस्तुत गरे ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष सन्तोष बास्तोलाले चित्रकलाजस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
हिल पोइन्टका प्राचार्य दिवाकर जैसीले विद्यालय र स्थानीय तहबीच सहकार्यबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
निर्णायक मण्डलमा रहेका बुद्धि गुरुङ र अशोक बरालको टिमले चित्रको विषयवस्तु, प्रस्तुति, मौलिकता र सन्देशका आधारमा उत्कृष्ट चित्र छनोट गरेको हो । विजयीलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको वडासचिव शारदा सापकोटाले बताइन्।
हिल पोइन्टकी युमिका गुरुङ प्रथम, ग्लोबल स्कुलकी ओशिका गुरुङ दोस्रो, सोसल पब्लिकका अर्भिनल गुरुङ तेस्रो र हावर्ड स्कुलका दीपसन विक सान्त्वना हासिल गरे ।
प्रकाशित मिति २०८३ असार ८ गते सोमबार ०४:३५




