पोखरा ।
भारतीय भूतपूर्व सैनिक अधिकृत संघको आयोजनामा पोखरामा विभिन्न भारतीय भूतपूर्व सैनिक संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूबीच समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भारतीय गोर्खा सैनिकको गौरवशाली इतिहास, भारतीय भूतपूर्व सैनिकहरूको हकहित, पेन्सन, एएइ, डि.एस.बी, ई.सि.एच.एस, स्वास्थ्य सेवा तथा अन्य सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, लामो समयदेखि रोकिएको भारतीय गोर्खा रेजिमेन्टको अग्निवीर भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्नुपर्ने विषयमा पनि विशेष जोड दिइएको थियो । छलफलका क्रममा नेपालभर रहेका भूतपूर्व सैनिक तथा विभिन्न संघ–संस्थाहरू साझा उद्देश्यका साथ एकताबद्ध भई अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
वक्ताहरूले भारतीय सेनामा हुने भर्तीले नेपाली युवाहरूलाई रोजगारी, अनुशासन तथा उज्ज्वल भविष्य निर्माणको अवसर प्रदान गर्ने भएकाले अग्निवीर भर्ती प्रक्रिया यथाशीघ्र पुनः सञ्चालनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराई आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा भारतीय भूतपूर्व सैनिक अधिकृत संघका अध्यक्ष कर्णेल शेरबहादुर गुरुङसहित विभिन्न भूतपूर्व सैनिक संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा भूतपूर्व सैनिकहरूको हकहित, सेवा–सुविधाको संरक्षण तथा साझा मुद्दामा सबै संघ–संस्थाले एकताबद्ध भएर निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
प्रकाशित मिति २०८३ असार १५ गते सोमबार ०६:४१




