२०८३ साउन २१ गते बिहीबार

६ जना पर्वतारोही गण्डकी सरकारबाट सम्मानित

६ जना पर्वतारोही गण्डकी सरकारबाट सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २६ गते शुक्रबार १२:०९

पोखरा, असार २६ गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका प्रदेशका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ। पोखरामा शुक्रबार आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’मा...

पोखरा, असार २६

गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका प्रदेशका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ। पोखरामा शुक्रबार आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गर्दै पर्वतारोहीलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पीसी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी, पर्वतको बिहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने, तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा तथा घिरिङ गाउँपालिका–५ का नवराज राना छन्।


कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकीको पर्यटन हब पर्यटकको संख्या बढाउनेभन्दा उनीहरूको बसाइ अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताए। “हामीले अब कति पर्यटक आए भन्नेभन्दा पनि उनीहरूलाई गण्डकीमा थप दिन कसरी बस्न प्रेरित गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ,“ उनले भने, “पर्यटकको बसाइ लम्बिँदा पर्यटनबाट हुने आर्थिक गतिविधि र स्थानीय आम्दानी दुवै बढ्छ।“ उनले पछिल्ला वर्षमा विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको र अफसिजनमा समेत पोखरा तथा गण्डकीका अन्य पर्यटकीय गन्तव्यमा चहलपहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए। यसले पर्यटन व्यवसायीलाई समेत राहत पुगेको उनको भनाइ थियो। मुख्यमन्त्री पाण्डेले हिमाल नेपालको पहिचान र गौरवसँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गर्दै विश्वभर बढ्दो योग, ध्यान र वेलनेसप्रतिको आकर्षणलाई दृष्टिगत गरी गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए।

उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पु¥याएको बताइन्। उनले यस्ता उपलब्धिले नयाँ पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। सम्मानित पर्वतारोहीमध्ये नाङसल छ्योटोन लामाले सगरमाथासहित मनास्लु र ल्होत्से हिमाल सफलतापूर्वक आरोहण गरेका छन्। अन्य सम्मानित पर्वतारोहीहरूले पनि सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण–१ लगायत विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी प्रदेशको गौरव बढाएको मन्त्रालयलका सचिव रोशन ज्ञवालीले बताए ।

उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टिकाराम पौडेलका अनुसार प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो सम्मान कार्यक्रम आयोजना गरिएको हो। प्रदेशका नागरिकलाई पर्वतारोहण क्षेत्रमा थप प्रोत्साहन गर्ने र उनीहरूको योगदानलाई राज्यबाट सम्मान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार १२:०९

हजुरको प्रतिक्रिया