पोखरा ।
पोखरालाई सूचना प्रविधि (आईटी) र साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित फिस्टेल माउन्टेन कलेजले तीन अग्रणी प्रविधि संस्थासँग सहकार्य गरेको छ ।
कलेजले आफ्नै कलेजमा एक कार्यक्रम गरेर, भैरव टेक, इनरेड ल्याब्स र साइबर युनिभर्ससँग सहकार्य गर्दै विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, व्यावहारिक सीप विकास गर्ने तथा रोजगारीका अवसर विस्तार गर्ने उद्देश्य राखेको जानकारी दिएको हो ।
कलेजका अध्यक्ष सुलभ बुढाथोकीले पोखरालाई काठमाडौंपछि नेपालको अर्को प्रमुख आईटी हब बनाउने दीर्घकालीन लक्ष्यअनुसार सहकार्य गरिएको बताए।
उनका अनुसार शिक्षा, उद्योग र रोजगारीबीचको दूरी घटाउँदै पोखराका युवालाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरका अवसर उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
उनका अनुसार यस सहकार्यमार्फत साइबर सुरक्षा, सफ्टवेयर विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बिग डाटा र क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा अध्ययनरत विद्यार्थीले इन्टर्नसिप, उद्योग–आधारित परियोजना, मेन्टरसिप तथा व्यावहारिक तालिमका अवसर प्राप्त गर्ने बताइएको छ ।
फिस्टेल माउन्टेन कलेजले यसअघि घोषणा गरेको ‘पोखराको नवयुग’ अवधारणालाई मूर्त रूप दिन बेलायतको युनिभर्सिटी अफ वुल्भरह्याम्प्टनसँगको सम्बन्धनमा सञ्चालित बीएससी (अन्र्स) कम्प्युटर साइन्स कार्यक्रममार्फत एआई, बिग डाटा, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षामा केन्द्रित अध्ययनलाई उद्योगसँग जोड्ने वातावरण तयार गरिएको जनाएको छ ।
एफएमसीले आगामी दिनमा प्रविधि कम्पनीहरूसँगको सहकार्य अझ विस्तार गर्दै अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप प्रवद्र्धन तथा साइबर सुरक्षा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
यसले पोखरालाई सूचना प्रविधिको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति २०८३ असार २९ गते सोमबार ०६:२१




