पोखरा ।
पोखरामा प्रहरीले अवैध हतियारसहित २ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटनबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानीय ३० वर्षका साजन विक र ३० वर्षका सञ्जय नेपाली छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले साजन बिकको घर कोठाबाट हतियार बरामद गरेको हो । उनको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा हतियार फेला परेको थियो । प्रहरीले १ नाल भरुवा बन्दुक र १ थान फलामको धारिलो हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले खानतलासी गरेको थियो । खानतलासीको यो काम २०८३ असार ३१ गते राति करिब १०ः०० बजे भएको हो ।
अनुसन्धानका क्रममा उक्त हतियारको कुनै इजाजत पत्र फेला परेन । साजन बिकले उक्त हतियार सञ्जय नेपालीले राख्न दिएको खुलाएका छन् । त्यसपछि प्रहरीले सञ्जय नेपालीलाई पनि पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले उनीहरूमाथि अनुसन्धान गर्न ६ दिनको म्याद थपेको छ । उनीहरूमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित मिति २०८३ साउन ३ गते आइतबार ०२:४८




