२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग

स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १४ गते बिहीबार ०३:५१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि हुने श्रृङ्खलावद्ध भौतिक आक्रमण र दुव्र्यवहारप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि हुने श्रृङ्खलावद्ध भौतिक आक्रमण र दुव्र्यवहारप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेकी छिन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा व्याप्त दण्डहीनता र प्रशासनिक लाचारीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन् ।

सांसद कार्कीले अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, त्यसपछि हुने आन्दोलन र सरकारसँग गरिने कागजी सम्झौताको ‘दुश्चक्र’ वर्षौँदेखि चलिरहेको उल्लेख गरिन् ।

हालै वीरगन्जस्थित नारायणी अस्पतालमा भएको चिकित्सकमाथिको सांघातिक हमलापछि भएको सहमति कार्यान्वयन नहुँदै भक्तपुर अस्पतालमा पुनः स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुनुले राज्यको सुरक्षा संयन्त्रको असफलता पुष्टि गरेको उनको तर्क छ ।

डा. कार्कीले करिव ४५ देखि ५० प्रतिशत चिकित्सकहरूले कार्यस्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेको बताइन् ।

उनकाअनुसार ४२ प्रतिशत भौतिक आक्रमण र ६४ प्रतिशत मौखिक दुव्र्यवहारका घटनामा दोषीलाई राजनीतिक संरक्षण दिइने र कारबाही नगरिने प्रवृत्तिले अस्पतालहरू ‘रणमैदान’ मा परिणत भएका छन् ।

उनले भनिन्, ‘सरकार र चिकित्सक संघबीच पटक–पटक सम्झौता त हुन्छन्, तर कार्यान्वयनको पाटो फितलो हुँदा समस्या समाधान हुन सकेको छैन । डाक्टरको हात काँपिरहेको छ र मन त्रसित छ । आफ्नै जीवन जोगाउन डराउनुपर्ने अवस्थामा चिकित्सकले बिरामीको प्रभावकारी उपचार कसरी गर्ने ?’

उनले स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सुरक्षा र आत्मविश्वास खोजिरहेको स्पष्ट पारिन् ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहीबार ०३:५१
हजुरको प्रतिक्रिया