पोखरा, साउन १९
पोखरा महानगर पालिका १६ जुम्लेटीस्थित श्री शान्ति माध्यमिक विद्यालयले विद्यार्थीहरूमा उद्योग, उत्पादन, व्यापार व्यवस्थापन तथा उद्यमशीलतासम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पोखरा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरूको स्थलगत अवलोकन गराएको छ ।
शैक्षिक सत्र २०८३÷०८४ अन्तर्गत सोमबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित सुजल डेरी प्रा.लि., पि.आर. नेशनल प्लास्ट प्रा.लि., पोखरा केमिकल्स उद्योग, हिमालयन लाइफ प्लास्टिक प्रा.लि. तथा पोखरा फुड्स प्रा.लि. को अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनीहरूले उद्योग सञ्चालन प्रक्रिया, उत्पादन व्यवस्थापन, बजार प्रणाली तथा व्यवसाय सञ्चालनका विविध पक्षबारे सम्बन्धित उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
विद्यार्थीहरूले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष रूपमा उद्योगमै पुगेर बुझ्न पाउँदा विषयवस्तु अझ स्पष्ट र स्मरणीय भएको प्रतिक्रिया दिएका छन्। फरक शैलीको सिकाइले अध्ययनप्रति रुचि बढ्नुका साथै व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उनीहरूको भनाइ थियो ।
विद्यालयका सूचना अधिकारी भरत आचार्यका अनुसार गत जेठ २५ गतेदेखि कक्षा ११ र असार १ गतेदेखि कक्षा १२ को नियमित पठनपाठन सञ्चालन भइरहेको विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ। यस्ता स्थलगत अवलोकनले व्यवसाय अध्ययन, अर्थशास्त्र, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षाजस्ता विषयहरू प्रभावकारी रूपमा सिकाउन सहयोग पुग्ने मात्र नभई नेपालमै उद्यम, व्यवसाय र रोजगारीका प्रशस्त सम्भावना रहेको सन्देश विद्यार्थीसम्म पुग्ने विश्वास विद्यालयले लिएको छ।
अवलोकनमा सहभागी विद्यार्थीहरूले उद्योगी तथा व्यवसायीहरूसँग आफ्ना जिज्ञासा राख्दै उत्पादन र व्यवस्थापन प्रक्रियाबारे जानकारी लिएका थिए । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूले विद्यालयले अध्ययनसँगै भविष्य निर्माणमा समेत विशेष ध्यान दिएको अनुभव सुनाउँदै आफ्नो तथा परिवारको निर्णयप्रति सन्तुष्टि व्यक्त गरेका छन्। न्यून खर्चमा गुणस्तरीय शिक्षासहित व्यवहारिक सिकाइको अवसर उपलब्ध गराउने विद्यालयका रूपमा शान्ति माध्यमिक विद्यालय उत्कृष्ट विकल्प रहेको उनीहरूको भनाइ थियो।
सूचना अधिकारी आचार्यका अनुसार विद्यालयमा उपलब्ध भौतिक पूर्वाधार, नियमित निःशुल्क अतिरिक्त कक्षा, व्यक्तिगत शैक्षिक सहजीकरण, विद्यार्थीको क्षमता अनुरूपको अध्यापन, अभिभावकसँग नियमित परामर्श, सहभागितामूलक सिकाइ, मितव्ययी शुल्क तथा उत्कृष्ट शैक्षिक नतिजाका कारण अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको छ।
स्थलगत अवलोकन कार्यक्रममा कक्षा शिक्षक पवन तिमिल्सीना र सृजना पौडेल सहभागी रहेका थिए भने कार्यक्रमको व्यवस्थापन रामचन्द्र पौडेलले गरेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वय गर्ने पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समिति, सम्बन्धित उद्योगका व्यवस्थापन तथा कर्मचारीप्रति विद्यालयका प्रधानाध्यापक श्री सूर्य गिरीले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका छ्न।




