२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य उपचारमा नागरिकको ‘आउट अफ पकेट’ खर्च ५४ प्रतिशत, दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौती

स्वास्थ्य उपचारमा नागरिकको ‘आउट अफ पकेट’ खर्च ५४ प्रतिशत, दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २१ गते बिहीबार १२:४५

पोखरा । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रका केही सूचकहरूमा उत्साहजनक सुधार देखिए पनि केही गम्भीर विषयहरू अझै ‘रेड जोन’मा रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको...

पोखरा ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रका केही सूचकहरूमा उत्साहजनक सुधार देखिए पनि केही गम्भीर विषयहरू अझै ‘रेड जोन’मा रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि नेपालले थप संरचनागत र नीतिगत सुधार गर्नुपर्ने बताएका हुन् ।

सचिव डा. देवकोटाकाअनुसार नेपालमा हेपाटाइटिस ‘बी’ को निवारण, फाइलारियासिस नियन्त्रण, कुल प्रजनन दर (२.१) र गर्भवती जाँच (एन्टिनेटल केयर) को अवस्था सन्तोषजनक छ । यदि यही गतिमा काम भए यी सूचकहरूमा नेपाल दिगो विकास लक्ष्यसम्म ‘ग्रीन जोन’ मा पुग्ने उनले विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रूपमा ‘आउट अफ पकेट एक्सपेडिचर’ (नागरिकले उपचारका लागि आफ्नै गोजीबाट गर्ने खर्च) रहेको सचिव देवकोटाले जानकारी दिए ।

सरकारी लगानी र निःशुल्क सेवाका बाबजुद निजी अस्पतालहरूको महँगो शुल्क र औषधि एवं उपचारको बढ्दो दररेटका कारण यो भार बढेको उनको विश्लेषण छ । स्वास्थ्य बीमाको पहुँच ४५ प्रतिशत घरधुरीमा पुगे पनि व्यक्तिगत कभरेज ३३ प्रतिशत मात्र रहेको उनले बताए ।

बीमा कार्यक्रममा धेरैजसो बिरामी व्यक्तिहरू मात्र आबद्ध हुने र स्वस्थ जनसंख्या बाहिरै रहने प्रवृत्तिका कारण बिमा कोषमा चाप परेको र दाबी भुक्तानीमा समस्या देखिएको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषबाट ९ प्रतिशत र कर्मचारी सञ्चय कोषबाट २ प्रतिशत स्वास्थ्य कभरेज भइरहेको उनले बताए ।

सचिव देवकोटाले भने, ‘नेपालले स्वास्थ्यसँग सम्बन्धित धेरै सूचकमा उल्लेखनीय प्रगति गरेको छ । हेपाटाइटिस बीको नियन्त्रण, फाइलेरियासिस, कुल प्रजनन दर (२.१), गर्भपूर्व सेवा, मलेरिया, कालाजार तथा उपेक्षित उष्णकटिबन्धीय रोगहरूको नियन्त्रण, पाँच वर्षमुनिका बालमृत्युदर लगायतका सूचकमा सुधार देखिएको छ । यही गति कायम रहे अधिकांश स्वास्थ्यसम्बन्धी एसडीजी सूचकहरूमा नेपाल ग्रीन जोनमा पुग्ने सम्भावना छ । तर नवजात शिशु मृत्यु, मातृ मृत्यु, क्षयरोग, आत्महत्या, पाठेघरको मुखको क्यान्सर, डेंगी तथा आउट अफ पकेट स्वास्थ्य खर्च अझै चुनौतीका रूपमा छन् । हाल स्वास्थ्यमा हुने कुल खर्चको करिब ५४.२ प्रतिशत नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपरेको छ भने बाँकी ४६ प्रतिशत सरकारले वहन गरेको छ । आदर्श रूपमा नागरिकको प्रत्यक्ष खर्च घट्दै र सरकारी योगदान बढ्दै जानुपर्ने भए पनि हाल यो सूचक रेड जोनमा रहेको छ । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी र निःशुल्क सेवाको विस्तार गरिरहेको भएपनि उपचार खर्च र विशेषगरी निजी अस्पतालहरूको सेवा शुल्क बढेकाले आउँदा वर्षहरूमा आउट अफ पकेट खर्च अझ बढ्ने अनुमान गरिएको छ । हाल सार्वभौमिक स्वास्थ्य सेवा, सेवा कभरेज सूचक ८८ रहेको छ भने राष्ट्रिय स्वास्थ्य बीमाको कभरेज करिव ३३ प्रतिशत पुगेको छ ।’

नेपालका विभिन्न प्रदेशहरूबीच स्वास्थ्य सूचकमा ठूलो खाडल देखिएको सचिव देवकोटाले उल्लेख गरे ।

वागमती प्रदेशमा मातृ मृत्युदर प्रतिलाख ९८ मा झरिसकेको अवस्थामा लुम्बिनी प्रदेशमा यो संख्या २०७ रहेको छ । त्यस्तै, नवजात शिशु मृत्युदर गण्डकीमा ८ प्रतिशत हुँदा सुदूरपश्चिममा २७ प्रतिशत रहेको छ ।

यो असमानता हटाउन आगामी वर्षदेखि प्रदेशगत आवश्यकताका आधारमा छुट्टाछुट्टै बजेट र कार्यक्रम तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोग (एनसीडी) को रहेको र यसले नागरिकलाई गरिबीतर्फ धकेलिरहेको प्रति उनले चिन्ता व्यक्त गरे । यस्तै, वायु प्रदूषणका कारण नेपालमा वार्षिक करिव २६ हजार मानिसको अकाल मृत्यु हुने गरेको बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिहजार जनसंख्यामा ४ जना स्वास्थ्यकर्मी हुनुपर्नेमा नेपालमा यो अनुपात १.४९ मात्र रहेको छ ।

 

कुल संघीय बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा विनियोजन हुनुपर्ने माग रहँदै आएपनि हाल ४.८ प्रतिशत मात्र बजेट विनियोजन हुनुले सेवा प्रवाहमा कठिनाइ भइरहेको सचिव डा. देवकोटाले बताए ।
मातृ मृत्यु, नवजात शिशु मृत्यु, क्षयरोग, आत्महत्या, पाठेघरको क्यान्सर र डेंगी जस्ता समस्याहरू अझै पनि चुनौतीपूर्ण रहेकाले टार्गेटेड एप्रोच (लक्षित अवधारणा) बाट काम गर्नुपर्ने उनको निष्कर्ष छ ।

प्रकाशित मिति २०८३ साउन २१ गते बिहीबार १२:४५
हजुरको प्रतिक्रिया