२०८३ असोज २३ गते शुक्रबार

‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल

‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २८ गते बिहीबार ०४:१८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले...

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै मन्त्री पौडेलले हवाई सुरक्षा र यात्रीको अधिकारका विषयमा सरकार गम्भीर रहेको समेत बताए । उनले यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक निकाय र सेवा प्रदायक निकाय गरी दुईवटा स्वायत्त संस्थामा विभाजन गर्न विधेयक तयार पारिएको जानकारी दिए । उनले नेपाली विमानहरूलाई युरोपेली युनियनले ‘ब्ल्याक लिस्ट’ (कालो सूची) मा राखेको भनी प्रयोग गरिने शब्दावलीप्रति असहमति प्रकट गरे । उनले ‘ब्ल्याक लिस्ट’ शब्द रङ्गभेदी भएको तर्क गर्दै यसलाई ‘एयर सेफ्टी लिस्ट’ (हवाई सुरक्षा सूची) भन्नु उपयुक्त हुने जिकिर गरे । नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न कार्यहरू गरिरहेको र आगामी ६ महिनाभित्र सकारात्मक नतिजा आउने अपेक्षा गरिएको उनले बताए ।

छलफलका क्रममा उठेका प्राविधिक प्रश्नहरूको स्पष्टीकरण दिँदै मन्त्री पौडेलले मौसम, एयर ट्राफिक वा अन्य प्राविधिक कारणले उडान ढिलो भए वायुसेवा कम्पनीहरूमाथि दायित्व सिर्जना नहुने कानूनी व्यवस्था विधेयकमा रहेको जानकारी दिए । उनले विश्वव्यापी प्रचलन अनुरूप नै यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । विधेयकका कारण हवाई भाडा महँगो हुन सक्ने आशंकाका सम्बन्धमा उनले यो व्यवस्थाले भाडा दरमा उल्लेख्य वृद्धि नहुने कुरामा आश्वस्त पारे । साथै, विदेशी नागरिकका लागि नेपालमा लागू गरिएको ‘डबल फेयर’ (दोहोरो भाडा दर) का विषयमा मन्त्रालयले अध्ययन गरिरहेको र यसका सबल तथा दुर्बल पक्षबारे छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ साउन २८ गते बिहीबार ०४:१८
हजुरको प्रतिक्रिया