पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढ्दो छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने यसअघि अध्यक्षमै पराजित अर्जुन पोखरेलसमेत रेसमै रहेको चर्चा छ । तर पोखरेल स्वयंले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरी प्यानल निर्माणको रस्साकस्सीमा जुटेका छन् । यो सँगै संघका पूर्वअध्यक्ष जो आफू अनुकूल नेतृत्व बनोस् भन्ने चाहन्छन्, उनीहरू पनि पक्ष, विपक्षमा खुलेरै देखा परेका छन् ।

अध्यक्ष पदका उमेदवार उत्तममान बुद्धाचार्य
यसो त पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन अध्यक्ष वा कार्यसमितिमा उठ्न चाहने विभिन्न पदका प्रत्यासीहरूलाई भन्दा धेरै पूर्वअध्यक्षहरूलाई नै लाग्ने गर्छ । विगतमा जस्तै यसपटक पनि को अध्यक्ष हुने भन्दा पनि कसलाई अध्यक्ष वा पदाधिकारी बनाउने भन्ने खेल महिना दिन अघिदेखि नै शुरू भएको छ ।
अहिले संघको नेतृत्वमा पुग्न खोजिरहेका तीन जनै प्रत्यासी संगठनभित्र लामो समयदेखि सक्रिय छन् । बुद्धाचार्य कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । बलराम आचार्य एक दशकभन्दा लामो समयदेखि संघको गतिविधिमा सक्रिय रहँदै आएका छन् । महासचिव गौतमले विभिन्न उपसमिति हुँदै कार्यसमिति सदस्य, उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । औपचारिक घोषणा नगरे पनि भित्रभित्रै आफ्नो पक्षमा माहौल बनाउँदै गरेका अर्जुन पोखरेल संघको महासचिव हुँदै अध्यक्षमा पवन प्रजापति र गोकर्ण कार्कीसँग पराजित भएका हुन् ।

अध्यक्ष पदका उमेदवार बलराम आचार्य
बलराम आचार्यको पक्षमा माहौल बनाउन यसपटक पूर्वअध्यक्ष एवं गण्डकीका पूर्वमन्त्री बिन्दुकुमार थापा खुलेरै लागेका छन् । बिन्दुसँगै सो समूहमा सञ्जीवबहादुर कोइराला, पवन प्रजापति, नारायण कोइराला, वसन्त उदास, कृष्णमोहन श्रेष्ठ, दीपक श्रेष्ठलगायतले छलफल अघि बढाएको बुझिएको छ । उनीहरूले गत शुक्रबार पोखराको महेन्द्रपुल नजिक एक रेस्टुरेन्टमा भेला आयोजना गरि छलफल गरेका थिए ।
थापाले हाल संघको कार्यसमिति सदस्य रहेका छोरा सौगात थापालाई सके उद्योग उपाध्यक्ष नत्र अन्य कुनै पदाधिकारीका लागि लबिङ गरिरहेको समेत चर्चा छ । यस्तै, पवन प्रजापति नातामा ज्वाइँ पर्ने प्रदीप राजभण्डारीलाई उपमहासचिव पद सुरक्षित गर्न जुन समूह तत्पर रहन्छ त्यतै लाग्ने देखिएको छ । पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ आफ्नो भतिज मनोजकुमार श्रेष्ठलाई वाणिज्य उपाध्यक्ष सुरक्षित गर्ने दौडधुपमा छन् भने संघको पूर्ववरिष्ठ उपाध्यक्ष तथा पूर्ववडाध्यक्ष रविन्सन प्रजु भाइ देवेन्सन प्रजुको पक्ष जता बलियो देखिन्छ त्यतै खुलेर लाग्ने निश्चित छ ।

यता, पूर्वअध्यक्ष विश्वशंकर पालिखेले सामाजिक सञ्जाल फेसबुकमार्फत यो अधिवेशनमा कुनै पक्ष विपक्षमा लागेर टाउको नदुखाउने उल्लेख गरे पनि भित्रभित्रै अर्जुन पोखरेलको पक्षमा माहौल बनाउन लागिपरेको बजार हल्ला छ । पालिखे पोखरेलको पक्षमा सकारात्मक माहौल नबनेको स्थितिमा उत्तममान बुद्धाचार्य वा शोभा गौतमको पक्षमा उभिनसक्ने अनुमान गरिएको छ । हामीसँगको सम्पर्कमा पालिखेले आफू यो खेलमा नरहेको तर हाल मैदानमा देखिएका प्रत्यासीहरूमा अर्जुन पोखरेल उपयुक्त पात्र रहेको बताए ।
यता, उपसमिति हुँदै कार्यसमिति सदस्य, उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालेर अध्यक्षको उम्मेदवारी घोषणा गरेकी शोभा गौतमको पक्षमा हालका अध्यक्ष गोकर्ण कार्कीको समर्थन रहेको बुझिएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको पक्षमा समेत केही पूर्वअध्यक्षहरूको समर्थन र साथ रहेको बुझिए पनि हालसम्म खुलेर कोही देखा परेका छैनन् ।

अध्यक्ष पदका उमेदवार शोभा गौतम
संघको अधिवेशन समय नजिकिँदै गर्दा विगतमा जस्तै प्यानल नै घोषणा गरेर मैदानमा उत्रन यसपटक अध्यक्षका प्रत्यासीहरूले सकिरहेका छैनन् । गत शुक्रबार बलराम आचार्यको नेतृत्वमा प्यानल बनाउने तयारी स्वरूप भएको भेलासमेत अनिर्णित बनेको छ । प्यानलमा रहने भनिएका केही पदाधिकारी सो प्यानलमा खुलेर लाग्न नचाहेको बुझिएपछि प्यानल नबनेको चर्चा छ । बाँकी प्रत्यासीहरू भने काेहि एककाे प्यानल घाेषणा भए बाँकी रहेका उमेदवार साथमा लिएर प्यानल घाेषणा गराैला भन्ने मनस्थितिमा देखिन्छन् । यसर्थ, विगतमा जस्ताे प्यानलसहित चुनावमा हाेमिने संकेत हाललाई कम देखिन्छ । यता, भदाै ५ गते उमेदवारकाे मनाेनयन पत्र वितरण हुनेछ भने ८ गते उमेदवारले मनाेनयन पत्र दाखिला गर्नुपर्नेछ । साेहि दिन उमेदवारकाे नामावली प्रकासन हुने भएकाेले प्यानल बनाएर मैदानमा उत्रने समयसमेत घर्किँदाे छ ।
२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् । यो संख्या विगतको भन्दा थोरै हो । तीन हजार हाराहारी सदस्य संख्या पुर्याएको संघले आफ्नै सदस्य जोगाउन सकिरहेको छैन । उद्योग वाणिज्य संघ नाम रहेको यो संस्थामा पोखरा औद्योगिक क्षेत्रका उद्योगीबाहेक थप अन्य उद्योगी छैनन् ।

अध्यक्ष पदका उमेदवार अर्जुन पोखरेल ( पाेखरेलले औपचारिक घोषणा गरिसकेका छैनन् )
औद्योगिक क्षेत्रका उद्योगीबाहेक संस्था विस्तारै वाणिज्य संघमा सीमित हुने स्थितिमा छ । विभिन्न आन्दोलन, कोभिड, अव्यवस्थित पार्किङ, महँगो घरभाडा, चर्को कर प्रणालीजस्ता विभिन्न मार खेप्दै शहरमा उद्योग र वाणिज्यको साख जोगाएका व्यापारीहरूको दिगो हित र साझा सुनुवाइको पैरवीमा संघ बेलाबेला चुक्ने गरेको व्यवसायीहरूको गुनासो छ । वर्षदिनमा कनिकुथी एउटा मेला गर्नुबाहेक संघमा देखाउने ठूला कार्यक्रमहरूको लिस्ट छैन । अन्तर्राष्ट्रिय संघसंस्था समन्वय र साझेदारी देखिँदैन ।
शहरकै महत्वपूर्ण र ठूला परियोजना तथा कार्यक्रमहरूमा संघको भूमिका साक्षी बस्ने प्रकारको मात्र छ । स्थानीय र प्रदेश सरकारका नीतिगत निर्णयहरूमा संघको आफ्नो आधिकारिक धारणा र पैरवी देखिँदैन । यी र यस्ता विविध कारणले संघका प्रति व्यवसायीको क्रेज घट्दो छ भने संघका हरेक अधिवेशनमा हुने पूर्वअध्यक्षहरूको चलखेलले संघ केही सीमित व्यापारिक घरानाहरूको क्रीडास्थलजस्तो बनेको छ ।
हालसम्म उम्मेदवारी घोषणा गरेका उम्मेदवार र चर्चामा रहेकाहरू :
अध्यक्ष : उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम (घोषणा गरिसकेका)
अर्जुन पोखरेल (घोषणाको तयारीमा रहेका)
वरिष्ठ उपाध्यक्ष : दिनेशचन्द्र बास्तोला (घोषित), शोभित पौडेल (तयारीमा)
उपाध्यक्ष-उद्योग : ललितबहादुर कुँवर (घोषित), सौगात थापा (तयारी, चर्चामा)
उपाध्यक्ष-वाणिज्य : मनोजकुमार श्रेष्ठ (घोषित), रामेश्वर अधिकारी (चर्चामा)
महासचिव : सुदीप प्रधानाङ्ग (घोषित), टीकाराम सुवेदी, तारानाथ ढुंगाना (चर्चामा)
कोषाध्यक्ष : देवेन्सन प्रजु (घोषित), विनोद केसी, जीवनप्रकाश श्रेष्ठ (चर्चामा)
उप-महासचिव : प्रदीप राजभण्डारी, रामचन्द्र तिमिल्सिना, भीम गौतम
सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका वा चर्चामा रहेकाहरू :
मनोहारी पौडेल, दुर्गा बराल, दुधमान गुरुङ, यादवप्रसाद पोखरेल, सूर्यराज घिमिरे, पृथ्वीराज तिमिल्सिना, एकनारायण गौतम, नवीन नापित, अमृत पोखरेल, प्रेम सुवेदी, भवसागर बराल, रामचन्द्र शर्मा लगायत अन्य…
प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ०५:२३




