स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका ८ करादीमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गल्याङबाट वडा नम्बर ९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जीप उकालो घुम्तीमा नियन्त्रण गुमाएर सडकबाट खसेको हो ।
दुर्घटनामा गल्याङ ८ की २५ वर्षकी निशा पचभैया र गल्याङ ९ का ६० वर्षका यमबहादुर विकको मृत्यु भएको छ । जीपमा सवार चालकसहित १७ जना घाइते भएका छन् । साँझ ५ः४५ बजे भएको दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।
घाइतेमध्ये वसन्ती विश्वकर्मा र देवी विकको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको छ । अन्य १५ जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ ।
नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल, सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन् । यस्तै मेघनाथ खनाल, राधामाया राना, गंगा विश्वकर्मा, दुर्गा विक र यमकला खनालको पनि उपचार भइरहेको छ । घाइतेमध्ये स्नेहा परियार, सुप्रिया थापा, समिर विक, अरुणा गाहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार चालकको अवस्था मध्यम छ । ‘प्रहरी घटनास्थल पुग्नुअघि नै स्थानीयले घाइतेको उद्धार गरी अस्पताल पठाएका थिए,’ उनले भने ।
घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । गल्याङ प्रहरी चौकीबाट पनि ट्राफिकसहित ७ जनाको टोली पुगेको छ । प्रहरीले अस्पतालमा पुगेर घाइतेको पहिचान र विस्तृत विवरण संकलन गरिरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।
प्रकाशित मिति २०८३ भदौ ८ गते सोमबार १०:१७




