२०८३ असोज २३ गते शुक्रबार

विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान

विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०४:०६

पोखरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा आइपर्ने प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान...

पोखरा ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा आइपर्ने प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले राजनीतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले विपद्को समयमा कुनै राजनीतिक दलको झण्डा नभई देशको झण्डा बोकेर नागरिकको सेवामा समर्पित हुन सबैमा अपिल गरे ।  विगतका विपद्, विशेष गरी २०७२ सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनीतिक चरित्रको स्मरण गरे ।

उनले सदनको ठूलो दलको हैसियतले रास्वपाले समन्वयकारी भूुमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकका माध्यमबाट विपद् जोखिम न्युनिकरणमा अग्रसरता लिने प्रतिवद्धता व्यक्त गरे ।

चीनको तिब्बततर्फको जलाधार क्षेत्रमा आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसले निम्त्याउनसक्ने जोखिमप्रति उनले सदनको ध्यानाकर्षण गराए ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत नदी किनाराका बस्तीहरूलाई उच्च सतर्कतामा राखिएको जानकारी दिँदै उनले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

सभापति लामिछानेले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूले सदैव सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि उनीहरूको साथ रहने विश्वास व्यक्त गरे ।

उनले पुनस्र्थापनाका बाँकी कामहरू सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि राष्ट्रिय सामथ्र्य परिचालन गरेर सफलता हासिल गर्न सकिने बताए ।

सञ्चारमाध्यम र नागरिकहरूलाई लक्षित गर्दै उनले विपद्का बेला अपुष्ट समाचार सम्प्रेषण नगर्न र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित भ्रमपूर्ण भिडियो वा फोटोहरू राखेर नागरिकलाई त्रसित नबनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायको तयारीका बारेमा जानकारी दिँदै उहाँले अस्पतालहरू २४सै घण्टा तयारी अवस्थामा रहेको, स्वास्थ्यकर्मीहरू स्ट्यान्डबाई रहेको र नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू उद्धारका लागि तयार रहेको बताए ।

विपद् व्यवस्थापनका सम्बन्धमा सरकारले गरिरहेका तत्कालीन र दीर्घकालीन योजनाका बारेमा गृहमन्त्रीले सदनलाई छिट्टै जानकारी गराउने विश्वास उनले व्यक्त गरे ।

उनले भने, ‘जब देशमा विपत्ति आउँछ, नेपालले सधैँ राजनीतिभन्दा माथि उठेर नागरिकको सेवालाई परम धर्म मान्दै आएको छ । यसपटक पनि सोही प्रतिवद्धताको आवश्यकता छ ।’

आफ्नो विगतको अनुभव साट्दै सभापति लामिछानेले राहत र उद्धारका नाममा हुने अव्यवस्थित भिडभाडले व्यवस्थापनमा चुनौती थप्ने उल्लेख गरे ।

जनप्रतिनिधि वा विशिष्ट व्यक्तिहरू घटनास्थलमा पुग्दा सुरक्षा निकायलाई थप कार्यभार थपिने र राहत वितरणमा असन्तुलन हुन सक्नेतर्फ सचेत गराउँदै उनले सबै सहायता स्थानीय प्रशासनमार्फत नै वितरण गर्न सुझाव दिए ।

वर्तमान सरकार बलियो रहेको र यसले विपद्का बेला प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले नागरिकको सेवामा सरकार अब्बल रूपमा प्रश्तुत हुने आशा व्यक्त गरे ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०४:०६
हजुरको प्रतिक्रिया