२०८३ कात्तिक १० गते सोमबार

बर्षामा ज्यानमारा बन्दै पाेखराका सडक

बर्षामा ज्यानमारा बन्दै पाेखराका सडक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १३ गते शनिबार ०९:१९

पोखरा । पोखराको मुस्ताङ चाेकभन्दा थाेरै माथी हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाउँदा एकै परिवारका आमा र छोरीको ज्यान गएको छ । घटनामा २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको मृत्यु भएको हो । शुक्रबार...

शुक्रबार नालीको भेलले बगाउँदा आमा र छोरीको मृत्यु

पोखरा ।
पोखराको मुस्ताङ चाेकभन्दा थाेरै माथी हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाउँदा एकै परिवारका आमा र छोरीको ज्यान गएको छ । घटनामा २६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो बिरौटाबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटरबाट ओर्लने क्रममा उनीहरुलाई नालीको पानीले बगाएको थियो ।

स्कुटर सुष्माका श्रीमान ३० वर्षका कमल दाहालले चलाएका थिए । पानी अत्यधिक परेपछि कमलले बाटोमा स्कुटर साइड लगाएर झर्न खोज्दा सडक किनारको नालीमा बगिरहेको तीव्र भेलले पहिला छोरीलाई बगाएको थियो । छोरीलाई समाउने क्रममा आमा सुष्मालाई समेत नालीले बगाएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा उनीहरुलाई दिउँसो ४ बजेर २३ मिनेट जाँदा बिरौटास्थित नहरको कुलोबाट उद्धार गरिएको थियो ।

उद्धारपछि दुवै जनालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । अस्पतालमा उपचारका क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनकी छोरी रानीकाको भने शनिबार बिहान १ बजेर २१ मिनेटमा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

दुवैको शव अहिले सोही अस्पतालमा राखिएको छ । आमा र छोरी दुवैको शरीरमा बाहिरी चोट केही नदेखिए पनि अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । उनीहरुले धेरै नै पानी खाइसकेका कारण अवस्था गम्भीर रहेको बताइएको छ ।

‘सडकको नालीमा पानीको बहाव निकै ठूलो थियो, स्कुटरबाट झर्न खोज्दा उनीहरुलाई भेलले सन्तुलन गुमाउन पुग्यो र नालीमा खसालेर बगायो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । पोखरामा शनिबार दिउँसो ठूलो पानी परेकाले सडकका नालीहरुमा पानीको सतह बढेको थियो ।

यसअघि पनि पोखराका विभिन्न स्थानमा नालीले बगाएर मानिसहरुको ज्यान जाने गरेको छ । प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको टोलीले स्थानीयको सहयोगमा समयमै उद्धार गरी अस्पताल पुर्‍याए पनि आमा र छोरी दुवैलाई बचाउन सकिएन । मृतकहरु पोखरा महानगरपालिका वडा नम्बर ३० ढुंगेपाटनमा बस्दै आएका थिए । प्रहरीले वर्षाको समयमा सडकमा हिँड्दा र सवारी साधन रोक्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ भदौ १३ गते शनिबार ०९:१९
हजुरको प्रतिक्रिया