२०८३ कात्तिक १० गते सोमबार

शव पहिचान गर्न आएका आफन्तलाई पोखरामा गाँस र बासको व्यवस्था

शव पहिचान गर्न आएका आफन्तलाई पोखरामा गाँस र बासको व्यवस्था

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १३ गते शनिबार ०९:२५

पोखरा । रसुवामा आएको बाढीले बगाएर ल्याएका शव पहिचान गर्न पोखरा आइपुगेका ४७ जनालाई विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडका होटलहरुमा उनीहरुको...

पोखरा ।
रसुवामा आएको बाढीले बगाएर ल्याएका शव पहिचान गर्न पोखरा आइपुगेका ४७ जनालाई विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडका होटलहरुमा उनीहरुको खाना र बस्ने प्रबन्ध गरिएको हो । रसुवामा १० भदौमा आएको बाढीले बगाएपछि त्रिशूली नदी किनारमा फेला परेका शवहरु पहिचानका लागि उनीहरु पोखरा आएका हुन् ।

शवहरु पोखरा महानगरपालिका वडा नम्बर १० रामघाटस्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएका छन् । पहिचानका लागि आएका परिवार र आफन्तलाई शनिबार राति ११ बजेतिर होटलमा राखिएको थियो । लेकसाइडको स्ट्रिट नम्बर ८ मा रहेको होटल डेभाजुमा १२ जनालाई राखिएको छ । हेटौंडाबाट आएका उपकार खड्कासहितको यो टोली उद्धब खड्काको शव पहिचानका लागि पोखरा आइपुगेको हो ।

स्ट्रिट नम्बर १७ मा रहेको होटल मिडल प्वाइन्टमा सिन्धुपाल्चोकका उमेश नेपालीसहित ६ जना बसेका छन् । उनीहरुले पहिचान हुन नसकेको शवको सनाखत गर्ने प्रक्रिया अघि बढाएका छन् । यस्तै स्ट्रिट नम्बर १७ कै होटल किङफिसरमा पाल्पाका बाबुराम खत्रीसहित ८ जना बसेका छन् । उनीहरु पनि पहिचान नभएको शवको खोजीमा यहाँ आएका हुन् ।

होटल कामनामा अर्घाखाँचीका रोम कब्दार मगरसहित १५ जनालाई राखिएको छ । यो टोली नारायण थापाको शव पहिचानका लागि आएको हो । यस्तै स्ट्रिट नम्बर १२ मा रहेको काभ्या बाटिका होटलमा इलामका सागर सुवेदीसहित ६ जना बसेका छन् । उनीहरुले पनि पहिचान नभएको शवको अवस्थाबारे जानकारी लिइरहेका छन् ।

‘शव पहिचान गर्न टाढाबाट आएका पीडित परिवारलाई कठिन नहोस् भनेर हामीले बस्ने व्यवस्था मिलाएका हौं,’ कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले भने । बाढीले बगाएका शवहरु क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचानमा केही समय लागेको बताइएको छ । अस्पतालमा रहेका शवहरुको कानुनी प्रक्रिया र सनाखत पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ । यस कार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीले स्थानीय होटल सञ्चालकहरुसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।

प्रकाशित मिति २०८३ भदौ १३ गते शनिबार ०९:२५
हजुरको प्रतिक्रिया