भाद्र १६, पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका भानुभक्त अधिकारी मतदातासँग भेटघाट तथा घरदैलो अभियानमा जुटेका छन्।
२०८३–२०८५ कार्यकालका लागि खुला सदस्य पदमा उम्मेदवारी दिएका अधिकारीले व्यवसायीका समस्या, अपेक्षा र सुझाव संकलन गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।
पोखराका पुराना व्यवसायी तथा सामाजिक अभियन्ता अधिकारीले व्यवसायीको साझा हित, संस्थागत सुदृढीकरण र आर्थिक समृद्धिलाई आफ्नो प्राथमिकतामा राखेका छन्। उनले संघलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
व्यवसायीले पछिल्लो समय भोगिरहेका नीतिगत, प्रशासनिक तथा आर्थिक समस्याको संस्थागत समाधान खोज्न संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। व्यवसायीबीच एकता र सहकार्य कायम गर्दै स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी व्यवसायमैत्री नीति निर्माणमा पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्। नवप्रवर्तन, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राखेर नयाँ व्यवसायिक अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ।
सामाजिक क्षेत्रमा समेत सक्रिय अधिकारी इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष हुन्। कोभिड–१९ महामारीका समयमा उनको नेतृत्व तथा सहभागितामा कास्कीमा २५ हजारभन्दा बढी व्यक्तिलाई खाना, राहत तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो। पोखरा महानगरपालिका–१ मा आवासीय क्रियाकर्म भवन निर्माणलगायत सामाजिक तथा सामुदायिक गतिविधिमा पनि उनी सक्रिय छन्।
‘व्यवसायीको मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएर संघमा काम गर्नेछु,’ अधिकारीले भने, ‘पारदर्शिता, सेवा र समर्पणलाई प्राथमिकतामा राखेर व्यवसायीका समस्या समाधानका लागि आवाज उठाउनेछु।’
घरदैलो अभियानका क्रममा अधिकारीले उद्योगी, व्यवसायी तथा संघका सदस्यसँग प्रत्यक्ष भेटघाट गर्दै आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा संघको निर्वाचन गतिविधि पनि तीव्र बन्दै गएको छ। पोखरा उद्योग बाणिज्यसंघको ७२औं साधारण सभा तथा ३६औं महाधिवेशन यहि भाद्र २० र २१ गते हुदैंछ ।
प्रकाशित मिति २०८३ भदौ १६ गते मंगलबार ०९:४९




