पोखरा ।
रसुवामा आएको बाढीमा परी प्रभावित भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने प्रदेश सरकारको घोषणालाई समेत अनुमोदन गरेको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता जितबहादुर शेरचनका अनुसार बाढीमा परी ज्यान गुमाएका गण्डकी प्रदेशका नागरिकका परिवार तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
‘मृतकका परिवार र बेपत्ता भएका व्यक्तिका परिवारलाई हामीले जनही १ लाख रुपैयाँ दिने घोषणा गरेका छौं,’ मन्त्री शेरचनले भने ।
बाढीका कारण प्रदेशका नागरिक प्रभावित भएपछि प्रदेश सरकारले तत्काल राहत, उद्धार तथा उपचारलाई प्राथमिकतामा राखेर सहयोगका निर्णय गरेको उनले बताए ।
बाढी प्रभावित क्षेत्रमा सडक अवरुद्ध हुँदा हवाई मार्गबाट पोखरा आएका घाइते तथा बिरामीलाई उनीहरूको घरसम्म पु¥याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने भएको छ ।
कृष्णभीरलगायत विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि यात्रु तथा बिरामीलाई आवतजावतमा समस्या परेको छ ।
‘बाटो अवरुद्ध भएका कारण हवाई मार्गबाट पोखरा आएका बिरामीलाई घरसम्म पु¥याउने व्यवस्था पनि सरकारले गरेको छ,’ मन्त्री शेरचनले भने ।
यसैगरी, बाढीमा परी घाइते भई विभिन्न अस्पतालमा उपचाररत नागरिकलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।
प्रदेश सरकारले मृतकका परिवारलाई किरिया खर्चबापत प्रति मृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
प्रकाशित मिति २०८३ भदौ १६ गते मंगलबार ११:५७




