पोखरा
पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन्। परिषदको २६ औं साधारणसभा तथा १४ औं अधिवेशनले भुजेललाई नयाँ नेतृत्व चयन गरेको हो।
निर्वाचनमा भुजेलले आफ्ना प्रतिस्पर्धी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरे। कुल ३९ प्रतिनिधि रहेको परिषदको निर्वाचनमा भुजेलले २५ मत प्राप्त गर्दा भण्डारीले ११ मत पाए। तीन मत बदर भएको थियो।
नवनिर्वाचित अध्यक्ष भुजेल परिषदको प्रथम उपाध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष समेत हुन्। पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय भुजेलको नेतृत्वमा परिषदले पोखराको पर्यटन प्रवद्र्धन तथा विकासका लागि थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अधिवेशनले परिषदका पाँच सदस्य सर्वसम्मत चयन गरेको छ। सदस्यमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी चयन भएका छन्।
नयाँ कार्यसमितिका बाँकी पदाधिकारी भने पछि मनोनयन गरिने परिषदले जनाएको छ। कार्यसमितिमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनयन गरिनेछ।
अधिवेशनको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले गरेका थिए। उनले पोखराको पर्यटन विकासमा सरकारको भूमिका र प्राथमिकताबारे धारणा राख्दै दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए।
‘पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको छ,’ उनले भने। पोखरा पर्यटन परिषद पोखराको विभिन्न संघसंस्थाको साझा छाता संगठनका रूपमा क्रियाशील छ।
प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०९:२५




