पोखरा । पोखरामा जव कुनै घटना घट्छ र पीडित प्रहरीकोमा निवेदन दिन पुग्छन् प्रहरीले सहज जवाफ दिन्छ, हामी उक्त क्षेत्रका सिसीटिभी फुटेजका आधारमा खोजतलास अथवा अनुसन्धान गर्छौ ।
मोटरसाइकल, स्कुटर चोरीको घटना होस् अथवा सडकमा हुने हिट एण्ड रनका घटना हुन् अधिकांशमा कास्की प्रहरीको जवाफ आउँछ, उक्त क्षेत्रमा सिसीटिभी फुटेज कतै भेटिएन । यस्ता घटनामा संलग्न व्यक्ति महिनौँ देखि वर्षौँसम्म पत्ता लाग्दैनन् । पीडितले न्याय त पाउँदैन नै घटना घटाउनेको मनोबल बढेर थप घटना घटाउन उद्धत हुन्छ । कतिपय यस्ता घटना पनि छन् जसमा पीडित आफैँले सिसीटिभी फुटेज लगेर प्रहरीकोमा बुझाउँदा समेत समयमा दोषी पत्ता लाग्दैन ।
यस्तै घटना पोखरा महानगरपालिका -५ जिरो किमि स्थित एक पसलमा घटेको छ । अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार (पुस १६ गते) झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन । दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।
तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डिएसपी सुन्दर तिवारीले घटनाबारे आफूलाई केही थाहा नभएको बताउनुभयो। कन्ट्रोलमा समेत बुझ्दै डिएसपी तिवारीले भन्नुभयो– ‘यस सम्बन्धमा हामीलाई कुनै पनि खबर छैन । कन्ट्रोलमा पनि खबर रहेनछ । सम्बन्धितले यदि खबर नगर्नुभएको हो भने गर्नुहोला ।’
यसै विषयमा बैदाममा प्रहरी प्रमुख डिएसपी चिनीमाया तामाङसँग बुझ्दा वडामा निवेदन आएको बताउनुभयो । चोरी भएको निवेदन र सिसिटिभी फुटेजको आधारमा अनुसन्धान हुँदै गरेको उहाँको भनाई छ । तर कास्की प्रहरी प्रवक्ता तिवारी कै अनुसार उहाँ आफैँले र कन्ट्रोलले समेत थाहा नपाएको चोरीको घटनाको अनुसन्धान कसरी भइरहेको छ ? सहजै अनुमान लगाउन सकिन्छ ।
घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार १२:३५




