पोखरा ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेशकुमार चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्तकमैया र कमलरीलगायतलाई लालपुर्जा वितरण गर्ने कार्य तिव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले बर्दियाबाट भूमिहीन सुकुम्बासीलाई जग्गा वितरणको काम सुरु हुनु सकारात्मक भएपनि उक्त कार्यले गति लिन नसकेको बताए ।
देशका सबै जिल्लामा रहेको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा मुक्तकमैयाको व्यवस्थापनको कार्यलाई तिव्र बनाउन उनले सरकारसँग माग गरे ।
उनले बाँके जिल्लामा हजारौँको संख्यामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको बताए ।
उनले भने, ‘सभामुख महोदय, खुशीको कुरा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काम बर्दीयाबाट शुरु भयो । हामीले सोचेका थियौँ अब यो काम देशका ७७ वटै जिल्लामा शुरु हुन्छ । मेरो जिल्ला बाँकेमा हजारौँको संख्यामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, बाढीपीडित लगायत मुक्तकमैया, कमलरी लगायत होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुको समस्या अस्तव्यस्त रहेको छ । यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । समयमा सबैलाई समान ढंगबाट लालपुर्जा वितरण गर्नको लागि देशभरी छिटोभन्दा छिटो चालियोस् ।’
उनले होल्डिङ सेन्टरमा रहेको सुकुम्बासी नागरिकको अवस्था अस्तव्यस्त रहेको भन्दै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए ।
प्रकाशित मिति २०८३ असोज १ गते बिहीबार ०३:४५




