२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ३ गते शनिबार ०३:०९

पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ । प्रदेश मूल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार विशेष समारोह आयोजना गरेको हो । समारोहलाई सम्बोधन गर्दै प्रदेश...

पोखरा ।

गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ । प्रदेश मूल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार विशेष समारोह आयोजना गरेको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको वर्तमान संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण र संविधानको कार्यान्वयनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएको गुनासो गर्दै संविधानले परिकल्पना गरेको संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभामुख कृष्णप्रसाद धिताल, नेकपाका संसदीय दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले संविधानको कार्यान्वयन र संरक्षणमा जोड दिए ।

वक्ताहरूले नेपालको संविधान उत्कृष्ट दस्तावेज भए पनि यसको अक्षरशः कार्यान्वयनमा अझै चुनौती रहेको बताएका थिए ।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रसहित नागरिकका मौलिक हक, समानता र समावेशितालाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

संघीय सरकारले आवश्यक कानुन नबनाउँदा प्रदेशले कतिपय विषयमा अपेक्षित रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ थियो ।

समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, कर्मचारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

कार्यक्रम शुरु हुनु अघि शहिद चोकमा पुगेर शहिद स्तम्भमा माल्यार्ण गरिएको थियो ।

 

प्रकाशित मिति २०८३ असोज ३ गते शनिबार ०३:०९
हजुरको प्रतिक्रिया