पोखरा ।
प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह अपरान्ह सवा चार बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन् ।
महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको हो । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गते अर्थात् आजदेखि सुरु हुँदैछ ।
प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जाने भएका हुन् ।
यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
भदौ १० गते आएको भोटेकोशी बाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री खनाल भने न्यूयोर्कमै रहेर विभिन्न मुलुकका प्रतिनिधिसँग साइडलाइन वार्ता तथा अन्य कूटनीतिक गतिविधिमा सहभागी हुने तयारी छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसकेका छन् । परराष्ट्रमन्त्री खनाल असोज १३ गते मंगलबार स्वदेश फर्किने छन् ।
प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार ११:४६




