२०८३ असोज २३ गते शुक्रबार

असोज ८ देखि १२ सम्म कास्की र आसपासका क्षेत्रमासमेत उच्च सतर्कता अपनाउन आग्रह

असोज ८ देखि १२ सम्म कास्की र आसपासका क्षेत्रमासमेत उच्च सतर्कता अपनाउन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ७ गते बुधबार ०७:४८

पोखरा । मित्रराष्ट्र भारतको अन्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तरपश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान...

पोखरा ।
मित्रराष्ट्र भारतको अन्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तरपश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उदृत गर्दै प्रशासनले असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म कास्की र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढी आकस्मिक बाढी, पहिरो, बाटो भासिने र कटानको जोखिम रहने भएकाले सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिएको छ। वर्षाका बेला खोला तथा नदी किनारमा माछा मार्न, पौडी खेल्न, लुगा धुन, ढुंगा–बालुवा निकाल्न, बाढीले बगाएर ल्याएका सामग्री झिक्न तथा गाईवस्तु चराउन नजान प्रशासनले निर्देशन दिएको छ। यस्तै, नदी किनारमा भलिबल, फुटबल वा क्रिकेट जस्ता बाह्य खेलहरू नखेल्न र बालबालिकालाई निगरानीमा राख्न अभिभावकहरूलाई सूचित गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी र होचो भूभागका बासिन्दालाई पानीको बहाव निरन्तर नियाल्न र जोखिम बढेमा तुरुन्त सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। यसैगरी, चालकहरूलाई नदी किनारका सडक तथा बगरमा सवारी रोक्न वा पार्किङ नगर्न भनिएको छ।

कास्कीका ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरू दिउँसो ४ बजेपछि र राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनहरू रातिको समयमा नचलाउन प्रशासनले निर्देशन दिएको छ। अति आवश्यक अवस्थाबाहेक यात्रामा ननिस्कन र यात्रा गर्नै परे राजमार्ग तथा सडकको पूर्वजानकारी लिएर मात्र हिँड्न अपिल गरिएको छ। पदयात्रामा निस्कन रोक लगाउँदै हाल पदयात्रामा रहेका पर्यटकहरूलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न भनिएको छ।

‘विपदको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणले मौसम पूर्वानुमानको सूचना नियमित लिनुपर्छ । बाढी वा विपद्को आकस्मिक अवस्था आएमा तुरुन्त नजिकको प्रहरी वा नि:शुल्क आपत्कालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गर्दछौँ,’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने।

प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार ०७:४८
हजुरको प्रतिक्रिया