पोखरा ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सिमित भएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप लगाएका हुन् ।
प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदम भनी आलोचना गरे ।
उनले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाइको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘जनताले विश्वास गरेर सुशासनका लागि मत दिएका थिए, तर आज नागरिकहरू ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्न बाध्य छन् । कानूनी राज्यमा कसैलाई पक्राउ गर्दा कारणसहितको पुर्जी चाहिन्छ । सरकारका मन्त्री र प्रधानमन्त्रीले जोशको पछि लाग्दा होस गुमाउनु भएन । मध्यरातमा गरिने गिरफ्तारीले गैरकानुनी बाटो समातेको पुष्टि हुन्छ ।’
आफ्नो दलमाथि लाग्ने आरोपको खण्डन गर्दै उनले आफूहरु सुशासनको लडाइँ लडिरहेको बताए ।
प्रकाशित मिति २०८३ असोज १३ गते मंगलबार ०४:३५




