२०८३ असोज २३ गते शुक्रबार

प्रतिनिधि सभामा उठे तीन गम्भीर सवालः हिमालमा बेपत्ताको खोजीदेखि पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

प्रतिनिधि सभामा उठे तीन गम्भीर सवालः हिमालमा बेपत्ताको खोजीदेखि पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १४ गते बुधबार ०२:४९

पीडित परिवार न्याय र वार्ताको माग गर्दै गृहमन्त्रालय पुगे पनि मन्त्रीसँग भेटघाट गर्न नपाएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए । उनले पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीडित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद राईले गत असोज ११ गते मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीनजना श्रमिक बेपत्ता भएको स्मरण गराए ।

उनले हालसम्म एकजना घनश्याम राईको शव फेला परे पनि लककुमार गुरुङ र सुरज राईको अवस्था अझै अज्ञात रहेको र आफन्तले सरकारबाट खोजी कार्यमा पर्याप्त तत्परता नदेखाएको गुनासो गरिरहेको सदनलाई जानकारी गराए ।

उनले त्रिपुरेश्वरमा भएको आत्मदाहको घटना पनि उठान गरे । उक्त घटनामा मृत्यु भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले संवाद गर्न नखोजेको भन्दै उनले आपत्ति जनाए ।

पीडित परिवार न्याय र वार्ताको माग गर्दै गृहमन्त्रालय पुगे पनि मन्त्रीसँग भेटघाट गर्न नपाएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए । उनले पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

त्यहाँका बैंकहरूले नेपाली श्रमिकलाई खाता खोल्न नदिएको र त्यसको प्रमुख कारण नेपाल ‘ग्रे लिस्ट’मा पर्नु रहेको गुनासो श्रमिकहरूबाट आएको राईले उल्लेख गरे ।

खाता खोल्न नपाउँदा पारिश्रमिक लिन र दैनिकी चलाउन समस्या भएको भन्दै उनले यस कुटनीतिक र प्रशासनिक समस्या समाधान गर्न परराष्ट्र र श्रम मन्त्रालयलाई तत्काल सक्रिय हुन आग्रह गरे ।

प्रकाशित मिति २०८३ असोज १४ गते बुधबार ०२:४९
हजुरको प्रतिक्रिया