२०८३ असोज २३ गते शुक्रबार

नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १५ गते बिहीबार ०४:५०

उनले भने, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस् ।’

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरो पीडितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाएका एजेण्डाहरू सकारात्मक भएपनि भ्रमणको पूर्व र उत्तरार्धमा संसदलाई जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरेको आरोप लगाए ।

बाढी–पहिरोका कारण ज्यान गुमाएका र बेपत्ता नागरिकहरूको अवस्थाप्रति सरकार उदासीन देखिएको उनको भनाइ छ ।

उनले बेपत्ता भएकाहरूलाई तत्काल मृतक सरहको कानूनी हैसियत प्रदान गर्न र पीडितहरूलाई राहत तथा पुनस्र्थापनामा गम्भीर बन्न सरकारसँग माग गरे ।

राहत सामग्री गोदाममा थन्किएको र रकम खर्च हुन नसकेको भन्दै उनले प्रशासनिक ढिलासुस्तीप्रति रोष प्रकट गरे । भ्रष्टाचार नियन्त्रणको विषयमा उनले अघिल्लो सरकारको पालामा सुशासनको महाअभियान शुरु गरिएको र ठूला फाइल खोलिएकै कारण सरकार ढालिएको जिकिर गरे ।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न पनि उनले सरकारलाई दबाब दिए ।

उनले भने, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस् ।’

उनले पछिल्लो समय जनताले महँगी, बेरोजगारी र आधारभुत सेवामा भोगेका समस्याबारे सरकार मौन रहेको आरोप लगाए ।

रसुवा र कोरोला लगायतका नाकाहरू बन्द हुँदा चाडपर्वको समयमा बजारमा सामान महँगिएको उल्लेख गर्दै उनले उच्चस्तरीय कुटनीतिक पहल गरी तत्काल नाका खुलाउन माग गरे ।

उनले सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा राख्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता कार्यले प्रधानमन्त्रीको साख गिराउने चेतावनीसमेत दिए ।

प्रकाशित मिति २०८३ असोज १५ गते बिहीबार ०४:५०
हजुरको प्रतिक्रिया