काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणपश्चात मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरेका हुन् ।
असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो ।
सोही सन्दर्भमा शनिबार स्थलगत निरीक्षणका लागि पुग्नुभएका मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको प्राविधिक टोलीले मन्त्री श्रेष्ठलाई बाँधको हालको अवस्था र बाढीको समयमा अपनाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो ।
मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले २४ सै घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गरे ।
यसअघिको बाढीका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रशारण लाइनमा क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाब सिर्जना भएको थियो । तर कुलेखानीको जलाशयमा पानीको राम्रो सञ्चिति भएकाले यसले आगामी सुख्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरे ।
सरकार ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत प्रणालीको ‘मेरुदण्ड’ को संज्ञा दिँदै यसले ’पिकिङ’ (माग उच्च भएको समय) को माग धान्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
हाल बाँधको अवस्था पूर्णतः सामान्य रहेको र प्रणाली सुरक्षित रहेको उनले स्पष्ट पारे ।
प्रकाशित मिति २०८३ असोज १७ गते शनिबार १२:४४




