काठमाडौँ ।
पूर्वराजदूत दीपककुमार उपाध्यायले नयाँ र पुरानो पुस्ताका नाममा समाजलाई विभाजित गर्दै मुलुकलाई कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको त छैनौँ भन्ने प्रश्न गरेका छन् ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै उपाध्यायले नयाँ र पुरानो पुस्ताबीच दोषारोपण गरेर मुलुकको हित हुन नसक्ने बताएका हुन् ।
उनले सरकार आउने–जाने क्रम चलिरहने भएपनि मुलुकको भविष्य कतातर्फ जाने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउँदै राज्य सञ्चालनदेखि नागरिक तहसम्म पारदर्शिता आवश्यक रहेको बताए ।
उपाध्यायले नागरिकलाई केन्द्रमा राखेर राज्यप्रतिको कर्तव्य, दायित्व र जवाफदेहिताबारे सचेतना अभिवृद्धि गर्न स्थापित पुस्ताले भुमिका खेल्नुपर्ने बताए । नयाँ पुस्तामाझ पुरानो पुस्ताले आफ्नो अनुभव साझा गर्नुपर्ने उद्देश्यले आफू अभियानमा सहभागी भएको उनको भनाइ छ ।
नेपालसँगैका मुलुकले आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको उल्लेख गर्दै उहाँले सरकारले परिणाम दिनेगरी काम गर्नुपर्ने बताए ।
उपाध्यायले भने, ‘हामीले एकले अर्कोलाई दोषारोपण गरेर मुलुकको हित हुन सक्दैन । हिजोकोले आजकालाई र आजकाले हिजोकालाई गाली गरेर केही हुनेवाला छैन । हाम्रो आफ्नोपनलाई गुमाउँदै द्वन्द्व मात्र अगाडि बढाउने दिशामा उद्दत त छैनौँ ? जसरी हुन्छ देशलाई कमजोर पार्ने, समाजमा विखण्डन ल्याउने बाटोतर्फ जाँदैछौँ कि भन्ने चिन्ता लाग्छ ।’
आफ्नो पुस्तासँग अहिलेको जस्तो प्रविधि नभए पनि नेपालको संस्कृति, परम्परा र इतिहासप्रति गर्व गर्नुपर्ने उनले बताए ।
उनले नेपालको भौगोलिक अवस्था र सभ्यतामा आधारित विकास मोडल अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रकाशित मिति २०८३ असोज २० गते मंगलबार १२:२१




