२०८३ असोज २३ गते शुक्रबार

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका तिवारीले भने– ‘विशेष महाधिवेशनपछि पनि काँग्रेस रुपान्तरण हुन सकेको छैन’

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका तिवारीले भने– ‘विशेष महाधिवेशनपछि पनि काँग्रेस रुपान्तरण हुन सकेको छैन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २१ गते बुधबार ०२:४१

काँग्रेसको महाधिवेशन प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको उल्लेख गर्दै उनले केन्द्रिय पदाधिकारीको नेतृत्वमा युवा आवाज सुनिश्चित गर्नुपर्ने बताए । उनकाअनुसार करिव ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएका छन् र तीमध्ये बहुसंख्यक ४५ वर्षमुनिका छन् ।

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि भनिएअनुसारको रुपान्तरण हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले पार्टीमा अब रुपान्तरणको पनि रुपान्तरण आवश्यक रहेको बताए ।

काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिनुभएका कांग्रेस विशेष महाधिवेशनपछि पनि ‘रनवेमा अड्किएको’ टिप्पणी गरे । पूर्ण महाधिवेशनपछि पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको भनाई छ ।

उनले काँग्रेसमा पार्टी सभापतिलाई बलियो बनाउनुपर्ने बताए । सभापति बलियो बनाउनुको अर्थ व्यक्तिगत रूपमा साथ दिने नभई सही नीति निर्माणमा सहयोग गर्ने र त्यसलाई कार्यकर्ता तथा जनतासम्म पु¥याउने भएको उनको भनाइ छ ।

काँग्रेसको महाधिवेशन प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको उल्लेख गर्दै उनले केन्द्रिय पदाधिकारीको नेतृत्वमा युवा आवाज सुनिश्चित गर्नुपर्ने बताए । उनकाअनुसार करिव ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएका छन् र तीमध्ये बहुसंख्यक ४५ वर्षमुनिका छन् ।

सभापतिसँगै केन्द्रिय पदाधिकारीको बैठकमा उहाँभन्दा कम उमेरका व्यक्ति पदाधिकारीमा हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हामीले विशेष महाधिवेशनबाट रुपान्तरणको कुरा गर्यौँ, तर भने अनुसार रुपान्तरण हुन सकेन । मेरो पहिलो एजेण्डा रुपान्तरणको पनि रुपान्तरण हो । कांग्रेस पार्टी विशेष महाधिवेशन गरेर रनवेमा अड्किरहेको छ, अब यो पूर्ण महाधिवेशन गरिसके १५ औँ महाधिवेशन गरिसकेपछि रनवेमा नअड्किएला भन्ने छैन, जुन किसिमको कार्यसमिति आउँदैछ, त्यही भएर हामीले सभापतिको हात बलियो बनाउनुपर्नेछ । सभापतिको हात बलियो बनाउने भनेको सभापतिको छेउमा दायाँबायाँ उभिएर मात्र होइन, सभापतिलाई ठीक नीति प्रतिपादन गर्न सहयोग गर्ने र र त्यो नीतिलाई ठीक रुपमा कार्यकर्ता र जनतामा पु¥याउने हो । नेपाली काँग्रेसको अहिले झन्डै ७० प्रतिशत ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउनुभएको छ, त्यो नयाँ आएका महाधिवेशन प्रतिनिधिहरूमध्ये बहुसंख्यक महाधिवेशन प्रतिनिधि ४५ वर्ष मुनिको हुनुहुन्छ । आज देशको जनसांख्यिकी बदलिएको छ, अहिलेको वर्तमान सभापति र निर्वाचित हुने सभापति गगन थापा सँगसँगै केन्द्रीय पदाधिकारीहरूको बैठक बस्दाखेरि उहाँभन्दा कम उमेरको उहाँलाई कान फुक्न सक्ने, उहाँलाई सल्लाह दिन सक्ने युवा नेतृत्व त्यो टेबलमा हुन्छ कि हुँदैन, मेरो सवाल त्यहाँनिर हो । मेरा सबै सिनियर नेताहरूको प्रति सम्मानसँगसँगै युवा आवाज पनि केन्द्रीय पदाधिकारीको बोर्डमा रहनुपर्छ ।’

उनले आफूले महामन्त्री पदलाई पार्टी रूपान्तरणका लागि ‘स्टेपिङ स्टोन’का रूपमा लिएको बताए । वीपी कोईरालाले आफ्नो कार्यक्रम आफैँ लेखेर कार्यान्वयनमा लैजाने गरेको उल्लेख गर्दै उनले आफूले पनि केही कार्यक्रम अघि सारेको र त्यसअनुसार पार्टीलाई अघि बढाउन चाहेको बताए ।

काँग्रेसका प्रतिनिधिमा रहेको असन्तुष्टि र छटपटीलाई राजनीतिक एजेण्डा र गन्तव्य दिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाई छ ।

उनले महामन्त्रीको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट पारे । देशभरीका महाधिवेशन प्रतिनिधिको हौसला र आफ्नै दममा महामन्त्रीमा उम्मेद्वारी दिएको उनको भनाई छ । उनले आफू महामन्त्रीमा बिजयी हुनेमा ढुक्क रहेको बताए ।

काँग्रेसको इतिहासमा पदाधिकारी दोहो¥याउने अभ्यास नभएको पनि बताए । आफू ‘अनटेस्टेड’ रहेको उल्लेख गर्दै तिवारीले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए ।

केन्द्रिय कार्यसमितिमा नरहेपनि पार्टीका निर्णय कार्यान्वयन र नीतिगत विषयमा आफूले निरन्तर बहस तथा पैरवी गर्दै आएको उनको छ ।

उनले भने, ‘म मेरो दममा खडा भएको छु, देशभरिका कार्यकर्ताहरू साथीहरूको दममा खडा भएको छु, म अन्तिमसम्म जंगमा रहन्छु र विजयी भएर आउनेछु । मैले फिर्ता गर्ने कुरा छैन । बीपी कोइरालाको पालाका कार्यसमितिहरू हे¥यौँ भने वीपी कोईरालाले कहिल्यै पनि पदाधिकारीहरूमा कुनै पनि नेतालाई दोहो¥याएर चान्स दिनुभएको छैन । हेरौँ यो पटक, कांग्रेस पाठशालाबाट आएको भएर गगन थापाहरू यो कुराको जानकार हुनुहुन्छ, म टेस्टेड छैन । मैले त्यो शङ्काको सुविधा पाउनुपर्छ ।’

देशभरका कार्यकर्ताको समर्थनबाट आफू महामन्त्रीमा विजयी हुनेमा विश्वस्त रहेको उनले बताए । तिवारीलाई पार्टी सभापति गगन थापाको विश्वास पात्रको रुपमा समेत चिनिन्छ ।

 

प्रकाशित मिति २०८३ असोज २१ गते बुधबार ०२:४१
हजुरको प्रतिक्रिया