२०८३ मंसिर ९ गते मंगलबार

सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्– महासंघ अध्यक्ष श्रेष्ठ

सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्– महासंघ अध्यक्ष श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २९ गते बिहीबार १२:०८

उनले सरकारी निकाय र ठूला खरिदकर्ताले साना आपूर्तिकर्तालाई तोकिएको समयभित्र भुक्तानी गर्ने व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड दिए । उनले उद्योग दर्ता तथा नवीकरण, कर तथा लेखासम्बन्धी प्रक्रिया एकद्वार डिजिटल प्रणालीबाट सञ्चालन गरी अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा आवद्ध गर्न गर्न समेत माग गरे ।

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् ।

ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गरेका हुन् । साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

उनले कर्जा सुरक्षण कोष विस्तार, चल सम्पत्ती धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढी र विपद्बाट प्रभावित व्यवसायीलाई शीघ्र पुनःस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गरे ।

उनले सरकारी निकाय र ठूला खरिदकर्ताले साना आपूर्तिकर्तालाई तोकिएको समयभित्र भुक्तानी गर्ने व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड दिए । उनले उद्योग दर्ता तथा नवीकरण, कर तथा लेखासम्बन्धी प्रक्रिया एकद्वार डिजिटल प्रणालीबाट सञ्चालन गरी अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा आवद्ध गर्न गर्न समेत माग गरे ।

अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिदमा स्वदेशी साना तथा मझौला उद्यमलाई प्राथमिकता दिनुपर्ने र तिनलाई ठूला उद्योगको आपूर्ति शृङ्खलासँग जोड्नुपर्नेमा जोड दिए ।

उनले बाढी प्रभावित उद्यमीलाई व्यवसाय पुनःस्थापनाका लागि सहुलियतपूर्ण कर्जा दिन तथा र बीमा दाबी प्रक्रियालाई समेत सरल बनाउन माग गरे । उनले कानून खुकुलो बनाउने भन्दा पनि अनावश्यक प्रक्रिया हटाएर कानूनको निष्पक्ष र पूर्वानुमानयोग्य कार्यान्वयन सुनिश्चित गर्नुपर्ने माग राखे ।

व्यापार सहजीकरणलाई कागजमा सिमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले भन्सार प्रणालीको आधुनिकीकरण, एकीकृत डिजिटल व्यापार प्रक्रिया, भरपर्दो लजिस्टिक्स पूर्वाधार र सीमापार ढुवानी प्रणाली सुधारलाई प्राथमिकता दिनुपर्ने समेत बताए ।

उनले राज्य र निजी क्षेत्रबीच आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सहकार्य आवश्यक रहेको पनि बताए । उनले महासंघले भ्रष्टाचारविरुद्धको सरकारको अभियानलाई समर्थन गर्ने उल्लेख गर्दै अनुसन्धान र कानुनी कारबाही प्रमाणका आधारमा निष्पक्ष रूपमा हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘ हाम्रो मुख्य सुझाव कानूनी तथा प्रशासनिक झन्झट हटाऔँ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विदेशी विनिमय ऐन, उद्योग र जग्गा सम्बन्धी व्यवस्था, वन तथा वातावरण, स्वीकृति, सार्वजनिक खरिद, श्रम पालना, कर, प्रशासन र कम्पनी दर्ता र विवरण बुझाउने व्यवस्थाको व्यवस्थित समीक्षा गर्न जरुरी छ । सरकारले महासंघ र सम्बन्धित पेशागत तथा क्षेत्रगत संघसंस्थासँग मिलेर यी व्यवसायको समीक्षा गर्नुपर्छ, प्रक्रिया सरल बनाउनुपर्छ, सरकारी निकाय बीच प्रभावकारी समन्वय गर्नुपर्छ र सेवा दिने समयसीमा पारदर्शी रूपमा तोक्नुपर्दछ । यसको अर्थ कानून खुकुलो बनाउने वा आवश्यक सुरक्षा हटाउने होइन, अनावश्यक अपरेट हटाउन र कानून निष्पक्ष र पूर्वअनुमानयोग्य ढंगले लागू होस् भन्ने हाम्रो चाहना हो । नम्बर दुई, व्यापार सहजीकरण र कागजमा होइन, व्यापार सहजीकरण कागजमा होइन व्यवहारमा देखियोस् । भन्सार प्रणाली आधुनिकीकरण बनाउने, डिजिटल प्रणालीमा आधारित एकीकृत व्यापार प्रक्रिया लागू गर्ने, भरपर्दो लजिष्टिक पूर्वाधार बनाउने र सीमापार भरपर्दो सीमापार ढुवानी भरपर्दो बनाउने काम सरकारले प्राथमिकता दिनुपर्दछ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, द्विपक्षीय लगानी सम्झौता, साफ्टा, बिबिआइएन र बिमिस्टेक जस्ता लगानी, व्यापार र पारवहन सम्बन्धी सम्झौताले लागत घटाउने, भन्सार छिटो हुने, बजार पहुँच सहज हुने र लगानी भित्रिने नतिजा दिनुपर्छ । छिमेकी मुलुकसँग मिलेर क्वारेन्टाइन प्रमाणिक प्रक्रिया सरल बनाउने, भरपर्दो परीक्षण मापदण्डलाई पारस्परिक मान्यता दिने, रेल र सडक जोडन, जोड्न सुधार र अनावश्यक गैर भन्सार अवरोध हटाउने काम पनि जरुरी छ । हालै रसुवा नाका अवरुद्ध हुँदा देखिएकै देखिएझैं वैकल्पिक व्यापार मार्गको तयारी पनि उत्तिकै जरुरी रहेको छ । यसका लागि महासंघले सरकार र निजी क्षेत्र सम्मिलित स्थानीय व्यापार सहजीकरण परिषद् पनि गठन गरी भन्सार, जाँचपास, ढुवानी लागत, निर्यातका निर्यातका अवरोध र लगानी अवरोध र लगानी स्वीकृतिकोमा हरेक ३ महिनामा लक्ष्य तोक्ने प्रयास गरेको छ । व्यापारको सफलताका कतिवटा सम्झौता भए भन्ने होइन कि नेपाली व्यवसायीले कति प्रतिष्पर्धी भएर निर्यात गर्न सके भन्ने भन्ने उत्पादन बढाउन र सम्मानजनक जोड दिन सके भन्ने नापिनुपर्दछ । राज्य र निजी क्षेत्र बीच सहकार्य, आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो । भ्रष्टाचार विरुद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ, कुनैपनि व्यवसाय वा काम कम्पनी कानुनभन्दा माथि हुँदैनन् । तर निष्पक्ष र कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनैपनि उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन । अनुसन्धान प्रमाणको आधारमा व्यवहारिक र निष्पक्ष होस् । पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्योल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन । वास्तविक व्यवसायिक विवाद, व्यवसायको असफलता र प्रक्रियागत त्रुटीलाई जानीजानी गरिएको ठगी, भ्रष्टाचार अपराध कार्यबाट छुटाउनुपर्दछ । कानून लागू त गर्नुपर्छ तर कसरी लागू गर्ने भन्ने हो, नयाँ सरकारसँग हाम्रो आग्रह छ, शंकामा आधारित सम्बन्धबाट माथि उठौं र पारदर्शी नियमन, संस्थागत उत्तरदायित्व र नतिजाको आधारमा साझेदारीमा अगाडि बढौं ।’

कुनैपनि व्यवसायी कानून भन्दा माथि हुन नहुने भएपनि प्रमाणको मूल्यांकन नगरी उद्यमीलाई दोषी ठहर गर्न नहुनेमा उनको जोड छ ।

प्रकाशित मिति २०८३ असोज २९ गते बिहीबार १२:०८
हजुरको प्रतिक्रिया