पोखरा ।
पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशीक एव तेस्रो पोखरा सयपत्री फूल मेला हुने भएको छ
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा मेला सञ्चालन हुन लागेको हो ।
मेलासम्बन्धी जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले पुष्प व्यवसायको विकास र विस्तारका लागि मेला महत्वपूर्ण हुने बताए ।
फ्यान कास्कीका अध्यक्ष राम सुवेदीले गोदावरी फूलको व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै पुष्प व्यवसायमा आबद्ध किसान तथा व्यवसायीलाई बजारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।
उनकाअनुसार मेलामा व्यावसायिक रूपमा उत्पादन गरिएका विभिन्न जातका गोदावरी फूल, नयाँ प्रजातिका बिरुवा तथा यस मौसममा फुल्ने सयपत्री, मखमलीलगायत मौसमी फूलहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प व्यवसायलाई आर्थिक गतिविधिसँग जोड्दै स्थानीय उत्पादनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
उनले महानगरपालिकाले कृषि तथा व्यावसायिक उत्पादनको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
फ्यानका सल्लाहकार दयाकुमार द्वा र उपाध्यक्ष कमला गुरुङले पनि पुष्प व्यवसायको सम्भावना, फूलको उत्पादन तथा बजारीकरण र व्यावसायिक विस्तारका विषयमा धारणा राखेका थिए ।
उनीहरूले फूल खेतीप्रति आकर्षण बढाउन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र पुष्प व्यवसायमा नयाँ उद्यमी आकर्षित गर्न प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
आयोजककाअनुसार प्रदर्शनीमा व्यावसायिक २२, कृषि सामग्रीसम्बन्धी तीन र सूचनामूलक एक गरी २६ वटा प्रदर्शनी कक्ष रहनेछन् । मेलामा विभिन्न जातजातिका गोदावरी फूल, फूलका बिरुवा, मौसमी फूल तथा पुष्प सजावटमा प्रयोग हुने सामग्रीसमेत राखिनेछ ।
पुष्प व्यवसायसम्बन्धी ज्ञान, सीप तथा प्रविधिबारे जानकारी लिन चाहनेका लागि पनि मेला उपयोगी हुने सचिव खिमलाल सुवेदीले बताए ।
प्रदर्शनीमा ३५ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । घर, आँगन तथा बगैँचा सजाउन चाहने, फूलप्रति रुचि राख्ने तथा पुष्प व्यवसाय गर्न इच्छुक व्यक्तिका लागि मेला अवसर बन्नेछ ।
नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशीक एवं तेस्रो सयपत्री फूल मेलाको उद्घाटन कात्तिक १८ गते बुधबार बिहान ११ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८३ कात्तिक १७ गते सोमबार १२:०५





