२०८३ मंसिर ९ गते मंगलबार

नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

नेपालको परराष्ट्र नीतिमा एक इन्च पनि दायाँबायाँ हुँदैनौँः रास्वपा महामन्त्री आचार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ३० गते आइतबार १२:२४

रास्वपा आगामी दिनमा नेपालको राजनीतिक यात्रामा विश्वसनीय राजनीतिक शक्तिका रूपमा अघि बढ्ने क्रममा दुई देशका सत्तारुढ दलबीचको सम्बन्धलाई पनि थप संस्थागत गर्न चाहेको आचार्यले उल्लेख गरे ।

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले नेपालको परराष्ट्र नीतिमा रास्वपाले कुनै विचलन आउन नदिने बताए ।

उनले रास्वपाले कुटनीति तथा विदेश नीतिका विषयमा पार्टीको छुट्टै दृष्टिकोणभन्दा पनि राज्यले अवलम्बन गरेको नीतिलाई नै आफ्नो नीति मान्दै आएको उल्लेख गरे ।
स

भापति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले विभिन्न सार्वजनिक मञ्चमा नेपालको राज्यनीतिप्रति प्रतिवद्धता व्यक्त गर्दै आएको उल्लेख गरे ।

चीनसँगको सम्बन्धलाई विश्वास र आत्मीयताका आधारमा थप मजबुत बनाउनु भ्रमणको अर्को उद्देश्य रहेको उनले बताए । दुई देशबीचको विशिष्ट सम्बन्धमा कुनै प्रकारको आँच नआओस् भन्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुने उनको भनाइ छ ।

यसैबीच, प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) तथा नेपालसँग जोडिएका संवेदनशील विषयमा अध्ययन गरेर मात्रै धारणा राख्न निर्देशन दिएको विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

जवाफमा आचार्यले प्रधानमन्त्री बालेन्द्र साहले बीआरआईबारे नबोल्न वा कुनै विषयमा धारणा नराख्न निर्देशन नदिएको स्पष्ट पारे । बरु, सत्तारुढ दलको प्रतिनिधिमण्डलका रूपमा विदेश भ्रमणमा जाँदा उठाइने विषयले सरकार र राज्यको धारणा पनि प्रतिनिधित्व गर्ने भएकाले सबै विषयमा पर्याप्त अध्ययन गर्न आग्रह गरेको उनले बताए ।

बीआरआई, सीमा तथा दुई देशबीचका अन्य संवेदनशील विषयमा सरकारको दृष्टिकोणअनुसार नै प्रतिनिधिमण्डलले आफ्नो धारणा राख्ने आचार्यको भनाइ छ ।

आचार्यले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले कूटनीति तथा परराष्ट्र नीतिका सन्दर्भमा सधैँ राज्यको नीतिलाई नै आफ्नो नीति मान्दै आएको छ । नेपालको आधिकारिक परराष्ट्र नीतिप्रति हामी हिजो पनि प्रतिवद्ध थियौँ, आज पनि छौँ र भविष्यमा पनि त्यसबाट विचलित हुने छैनौँ । चीन भ्रमणका क्रममा हुने भेटघाट र छलफलले दुई देशबीचको विश्वास, आत्मीयता र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेका छौँ । प्रधानमन्त्रीज्यूले प्रतिनिधिमण्डललाई छिमेकी राष्ट्रसँग जोडिएका संवेदनशील विषयहरूमा पर्याप्त अध्ययन र तयारी गरेर राज्यको प्रतिनिधित्व हुनेगरी आफ्ना धारणा राख्न निर्देशन दिनुभएको हो । बीआरआई, सीमा तथा अन्य द्विपक्षीय विषयमा पनि सरकारको आधिकारिक धारणा र राज्यको नीतिअनुसार नै हाम्रो प्रश्तुति रहनेछ । भ्रमणका क्रममा बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो तहको नेतृत्वसँग भेटघाट तथा छलफल हुनेछ । नेपाल–चीन सम्बन्धका बहुआयामिक पक्ष, राजनीतिक सहकार्य र ज्ञान आदानप्रदानलगायतका विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।’

चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवस्तरमा भेटवार्ता सम्भव नभए पनि दोस्रो तहको नेतृत्वसँग छलफल हुने उनले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति रहने भएकाले त्यसपछिको तहका नेताहरूसँग बेइजिङमा भेटवार्ता हुने उनको भनाइ छ ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न आयाम, राजनीतिक सहकार्य र अनुभव तथा ज्ञान आदानप्रदानका विषयमा छलफल हुने उनले बताए ।

रास्वपा आगामी दिनमा नेपालको राजनीतिक यात्रामा विश्वसनीय राजनीतिक शक्तिका रूपमा अघि बढ्ने क्रममा दुई देशका सत्तारुढ दलबीचको सम्बन्धलाई पनि थप संस्थागत गर्न चाहेको आचार्यले उल्लेख गरे ।

रास्वपाको करिव २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि चीन गएको हो ।

भ्रमणका क्रममा राजनीतिक सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०८३ कात्तिक ३० गते आइतबार १२:२४
हजुरको प्रतिक्रिया